Saturday, February 23, 2019

फ्रान्सका राष्ट्रपति आफ्नो छवी सुधार्दैः न्यूनतम पारिश्रमिक बढाउने बचन

प्रकाशित मिति: 2018/12/11

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले महँगीविरुद्ध चलिरहेको प्रदर्शनको जवाफमा थुप्रै कल्याणकारी कदम उठाउने घोषणा गरेका छन् ।
सोमबार बेलुका राष्ट्रपतिको नाममा सम्बोधनका क्रममा म्याक्रोंले न्यूनतम पारिश्रमिक वृद्धिका साथै करमा छुट दिनेबारे घोषणा गरेका हुन् ।
इन्धनमाथि कर, बढ्दो महँगी र अन्य थुप्रै मुद्दाका विषयमा फ्रान्समा गत चार हप्तादेखि हिंस्रक प्रदर्शन भइरहेको थियो ।
राष्ट्रपति म्याक्रोंले हिंसाको आलोचना गर्दै प्रदर्शनकारीहरुको रिस गहिरो तर विभिन्न प्रकारले जायज पनि भएको बताएका छन् ।
म्याक्रोंले सन् २०१९ देखि न्यूनतम पारिश्रमिकमा सय युरो प्रतिमहिनाको बढोत्तरी हुने बताएका छन् ।
कम आय भएका पेन्सनर्समाथि तय करवृद्धिलाई पनि रद्द गरिएको छ । ओभरटाइम आयमा अब कर लाग्ने छैन भने रोजगारदातालाई वर्षको अन्त्यमा करमुक्त एकमुष्ट बोनस दिनका लागि प्रोत्साहित गरिनेछ ।
अहिलेसम्म प्रदर्शनलाई नजरअन्दाज गरिरहेका राष्ट्रपति म्याक्रोंले धेरै मानिसहरु आफ्नो जीवनस्तरसँग खुसी नभएको तर त्यसलाई अहिलेसम्म नजरअन्दाज गरिएको स्विकारेका छन् ।
उनले भने, ‘पछिल्लो ४० वर्षमा यस्ता गाउँ र बस्तीमा समस्या बढिरहेको छ जहाँ सार्वजनिक सेवा खस्किरहेको छ र जीवनस्तर खराब भएको छ ।’
‘यस्ता थुप्रै मानिसहरु छन् जसले समाजमा सही स्थान पाउन सकेका छैनन् र त्यसलाई मानिसहरुले बिर्सनु पर्छ भनी हामीले संकेत दिएको जस्तो देखिन्छ,’ उनले भने ।
उनले थपे, ‘म यस्तो परिस्थितीमा आफ्नो जिम्मेवारीलाई स्विकार्छु । मैले तपाईंहरुलाई मेरो प्राथमिकता र चिन्ता तपाईंहरुभन्दा केही अरु नै छ भनेर महसुस गराएको हुनसक्छ । मलाई थाहा छ, तपाईंहरु मध्ये धेरैलाई मेरो कुराले दुःख दिएको पनि हुनसक्छ ।’
कुनै बेला बैंकरको रुपमा काम गरेका म्याक्रोंले सर्वसाधारणको दुःख र संघर्षलाई नजरअन्दाज गरिरहेको आरोप लागेको छ ।
आफ्नो भाषणमा उनले आफ्नो यो छवीलाई परिवर्तन गर्ने संकेत दिँदै भने, ‘म फ्रान्सको सबै इलाकाका मेयरलाई भेट्नेछु र जनताको मुद्दालाई सुल्झाउने प्रयास गर्नेछु ।’
फ्रान्सको राजधानी पेरिससमेत विभिन्न शहरमा पछिल्लो चार हप्तादेखि प्रत्येक हप्ताको अन्त्यमा प्रदर्शन गरियो । यो क्रममा हज्जारौंलाई पक्राउ गरियो भने सयौं घाइते भए ।

तपाईंको बिचार