Wednesday, October 16, 2019

सोल्स्कसायर युनाइटेडका नयाँ म्यानेजर

प्रकाशित मिति: 2018/12/19

एजेन्सी । म्यान्चेस्टर युनाइटेडले ओली गनर सोल्स्कसायरलाई क्लबको नयाँ म्यानेजर घोषणा गरेको छ, तर गल्तीले ।

बर्खास्त गरिएका जोसे मोरिन्होको स्थानमा नर्वेजियन खेलाडीलाई क्लबले अन्तरिम म्यानेजर नियुक्त गर्ने औपचारिक घोषणा भने गरेको छैन ।

यद्यपि, क्लबको वेबसाइटको एक पोष्टमा भने क्लबका पूर्व स्ट्राकरलाई ‘हाम्रो अन्तरिम म्यानेजर’ भनेर लेखिएको थियो । तर, उक्त पोष्टलाई तुरुन्तै हटाइएको थियो ।

सर एलेक्स फर्गुसनको नेतृत्वमा ११ सिजन क्लबमा बिताएका सोल्स्कसायरले क्लबका लागि १ सय २६ गोल गरेका थिए ।

४५ वर्षीय सोल्स्कसायर हाल नर्वेजियन टोली मोल्डेको प्रशिक्षकको रुपमा रहेका छन् । क्लबको २०१८ को सिजन सकिसकेको छ भने आगामी मार्चसम्म खेल शुरु हुने छैन ।

युनाइटेडको आधिकारिक वेबसाइटमा पोष्ट गरिएको भिडियोमा सोल्स्कसायरले सन् १९९९ को च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखबिरुद्ध गरेको गोल देखाइएको थियो जसको क्यापसनमा लेखिएको थियो, ‘सोल्स्कसायर हाम्रो अन्तरिम म्यानेजर बनेका छन्, यो गोलले क्याम्पनाउमा ट्रेबल जितेको २० सिजनपछि ।’

 

नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्गले समेत सोल्स्कसायरलाई सामाजिक सञ्जालमा बधाई दिएकी छिन् ।

सोल्स्कसायरले शनिबार कार्डिफबिरुद्धको खेलमा युनाइटेडको नेतृत्व सम्हाल्न सक्नेछन् ।

उनैको नेतृत्वमा रहेको बेला सन् २०१४ मा कार्डिफ रेलिगेसनमा परेको थियो । त्यतिबेला उनी आठ महिना क्लबमा रहेका थिए ।

यो सिजनपछि युनाइटेडले पूर्णकालिन प्रशिक्षकको खोजी गर्ने बताइएको छ ।

नर्वेका पूर्व स्ट्राइकर सोल्स्कसायरले युनाइटेडमा रहँदा ६ प्रिमियर लिग उपाधिका साथै दुई एफए कपको उपाधि जितेका थिए ।

तपाईंको बिचार