Thursday, May 23, 2019

बेलायती प्रधानमन्त्री मेको ठूलो हार, ब्रेक्जिट डिल संसदबाट अस्वीकृत

प्रकाशित मिति: 2019/01/16

काठमाडौं । ब्रेक्जिट डिल अर्थात युरोपीय संघबाट ब्रिटेन अलग हुने प्रधानमन्त्री टेरिजा मेको योजनालाई संसदले अस्वीकार गरेको छ । उनलाई मात्र २०२ सांसदले समर्थन गरे । विपक्षमा ४३२ सांसदले मत दिए ।
मतदानअघि मेले संसदलाई सम्बोधन गर्दै आफ्नो योजनाको बचाउ गरेकी थिइन् । भावुक र आवेशपूर्ण सम्बोधनका क्रममा उनले ब्रेक्जिट डिलमाथि भएको मतदान आफ्नो राजनीतिक करियरकै सबैभन्दा महत्वपूर्ण क्षण भएको बताएकी थिइन् ।
तर, प्रधानमन्त्री मेकै कन्जरभेटिभ पार्टीका ११८ सांसदले पनि ब्रेक्जिट डिलको विपक्षमा मत दिएका छन् ।
बेलायती संसदको इतिहासमा कुनै पनि प्रस्तावमा सरकारी प्रस्तावको यो सबैभन्दा ठूलो हार हो । तर, यो पनि सत्य हो कि विपक्षी लेबर पार्टीका तीन सांसदले भने ब्रेक्जिट डिलको पक्षमा मत दिए ।
प्रधानमन्त्रीको योजनाको ऐतिहासिक हारपछि लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भनेका छन् कि जसरी प्रधानमन्त्रीको ब्रेक्जिट डिल खारेज भयो, उसले प्रष्ट भएको छ कि सरकारले संसदको विश्वास गुमायो ।
सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार बहस हुनेछ ।
मेको राजनीतिक भविश्यमा प्रश्न
बेक्जिट डिलमा ऐतिहासिक हार व्यहारेपछि प्रधानमन्त्री टरिजा मेको राजनीतिक भविश्यमाति प्रश्न उठ्न थालेको छ । तर, कयौं सांसद र मे सरकारलाई समर्थन गर्ने दलले प्रष्ट पारेका छन् कि उनीहरुले बेक्जिट डिलको विरोध गरेका हुन्, प्रधानमन्त्रीको होइन ।
मतदानपछि प्रधानमन्त्री मेले भने आफ्नो सरकारले विश्वासको मत पाए सोमबार अर्को मस्यौदा संसदमा पेश गर्ने बताएकी छिन् । तर, विश्वासको मत हासिल गर्न असफल भए उनी आफैंले वा अरुले १४ दिनभित्र संसदको विश्वास जित्ने मौका दिइनेछ । तर, सरकार बन्न नसके आम चुनाव हुनेछ ।

 

तपाईंको बिचार