Thursday, June 20, 2019

बोइङले गर्‍यो उड्ने कारको परीक्षण

प्रकाशित मिति: 2019/01/24

काठमाडौं । जहाज निर्माता कम्पनी बोइङले उड्ने कारको सफल परीक्षण उडान गरेको छ।

मंगलबार अमेरिकाको भर्जिनियामा कारको टेकअफ, उडान र ल्याण्डिङको परीक्षण सफल भएको बोइङले जनाएको छ।

‘हामीले सफलताका साथ हाम्रो यात्रुवाहक कारको परीक्षण उडान गरेका छौं,’ बोइङले ट्वीट गर्दै भनेको छ, ‘शहरभित्र सुरक्षित र दीगो आवातजावत प्रणाली बनाउन हाम्रो प्रयास जारी छ।’

विद्युतबाट चल्ने स्वचालित उक्त कारले ५० माइलसम्म उडान गर्न सक्छ।  

अर्को जहाज निर्माता एयर बस लगायत अरू धेरै कम्पनीहरू पनि उड्ने कार बनाउने दौडमा छन्। उबरसँग मिलेर उड्ने ट्याक्सी बनाउन लागेको अरोरा फ्लाइट साइन्सलाई किनेपछि बोइङले पनि उड्ने कार बनाउने अभियानलाई तीव्रता दिएको थियो।

एयर बसले बनाएको वहान नाम दिइएको स्वचालित उड्ने ट्याक्सीको गत वर्ष सफल परीक्षण उडान भएको थियो।  

इन्टेल कर्पोरेसन र इह्यांग इन्कले पनि उडने कारको उडान परीक्षण गर्ने तयारी गरिरहेका छन्।

अमेरिकामा सन् २०२३ सम्म उड्ने कार प्रयोगमा आउने बताइएको छ। दुई शहर डलास फोर्ट वर्थ र लस एन्जलसबीच पहिलो पटक त्यस्तो उडान हुनेछ। एजेन्सी

तपाईंको बिचार