Thursday, August 22, 2019

आगामी डेढ दशकभित्र चीनले विमानस्थलको संख्या ४ सय ५० पुर्‍याउने

प्रकाशित मिति: 2019/01/24

बेइजिङ । चीनले आगामी डेढ दशकभित्र विमानस्थलको संख्या बढाएर ४ सय ५० पुर्‍याउने नयाँ तथ्यांक प्रक्षेपण गरेको छ । यो हाल रहेका विमानस्थलको संख्याभन्दा दोब्बर बढी हो ।

चिनियाँ उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्रशासन ९सीएएसी० ले उड्डयन शक्तिशाली मुलुक बन्ने लक्ष्यका साथ विमानस्थलको संख्या दोब्बरले बढाउने सरकारको योजना छ । सीएएसीका अनुसार सन् २०१८ को अक्टोबरसम्ममा नियमित यात्रुबाहक उडान–अवतरण हुने विमानस्थलको संख्या २ सय ३४ पुगेको थियो ।

चीनले आगामी एक दशकभित्र प्रमुख शक्तिशाली मुलुक अमेरिककालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो उड्डयन बजार बन्ने लक्ष्य लिएर विमानस्थल निर्माण उच्च प्राथमिकतामा राखेको छ । चीनमा वृद्धि भइरहेको मध्यमवर्गीय जनसंख्या तथा यसैलाई मध्यनजर गरी सरकारले यात्रुबाहक उडान र विमानस्थल निर्माणका लागि इन्धन माग क्षेत्रमा सहयोग बढाउँदै लाने नीति लिएको छ ।

यसैबीच चिनियाँ नीति–निर्माताहरू पूर्वाधार क्षेत्रमा भइरहेको लगानी वृद्धिबाट अर्थतन्त्र उकासिनेमा निश्चिन्त छन् । विश्वव्यापी आर्थिक मन्दी छाएयता चिनियाँ अर्थतन्त्र सबैभन्दा न्यूनस्तरबाट गुज्रिएका कारण विश्लेषकहरूले आगामी महिनादेखि अर्थतन्त्रमा थप सुधार हुँदै जाने अनुमान गरेका छन् ।

चिनियाँ राज्य परिषदले आन्तरिक माग पूरा गर्न रेल, राजमार्ग र विमानस्थलजस्ता पूर्वाधारमा वृहत लगानी विस्तार गर्दै जाने सरकारको नीति रहेको गत वर्ष अक्टोबरमै बताएको थियो । चिनियाँ अर्थतन्त्रको एक प्रमुख सूचक मानिने स्थिर पुँजी लगानीमा भइरहेको वृद्धि अनुमानभन्दा कम भएपछि बेइजिङले ऋण बढ्ने भन्दै ठूलो संख्यामा रहेका परियोजना रोकेर राखेको छ ।

चिनियाँ नागरिक उड्डयन प्रशासनले कूल यात्रुमध्ये हवाई यात्रुको संख्या मुलुककै तेस्रो बढी संख्याका रूपमा पुग्ने अनुमान गरेको छ । चीनमा हाल आन्तरिकबाहेक चार दर्जनजति अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । तीमध्ये अघिल्लो वर्ष सबैभन्दा कम यात्रु ७२ लाख १० हजार यात्रु आवागमन भएको सुनान सुओफाङ अन्तर्राष्ट्रिय विमानस्थलदेखि सबैभन्दा बढी १० करोड ९ लाख ८० हजार यात्रु आवागमन भएको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहेका छन् ।

तपाईंको बिचार