Tuesday, July 16, 2019

स्पेनका प्रधानमन्त्रीद्वारा निर्वाचन घोषणा

प्रकाशित मिति: 2019/02/17

एजेन्सी । संसद्बाट बजेट पारित नभएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ निर्वाचनको मिति घोषणा गरेका छन् । प्रधानमन्त्री सान्चेजले आगामी २८ अप्रिलका लागि निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।

क्याटलोनियासम्बन्धी विवाद र त्यसबाट संकट उत्पन्न भइरहेकै वेला संसद्ले बजेट प्रस्ताव अस्वीकृत गरेपछि सान्चेजले निर्वाचन घोषणा गरेका हुन् । स्पेनमा पछिल्लो चार वर्षको अवधिमा अहिले तेस्रोपटक निर्वाचनको मिति घोषणा भएको हो । ‘विनाबजेट केही नगरी बस्ने वा स्पेनी नागरिकलाई नै फैसलाको जिम्मा दिनेमध्ये मैले दोस्रो विकल्प रोजेँ,’ प्रधानमन्त्री सान्चेजले भने ।  

४६ वर्षीय सान्चेज ८ महिनाअघि मात्रै प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री मारियानो राखोएविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि सान्चोज प्रधानमन्त्री बनेका थिए । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा मारियानो स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री हुन् ।

स्पेनको संसद्मा क्याटलोनिया पृथक्तावादीहरूको तर्फबाट १७ सांसद  छन् । उनीहरूले प्रधानमन्त्रीको बजेट प्रस्तावको विपक्षमा मत जाहेर गरेपछि बजेट प्रस्ताव अस्वीकृत भएको हो । उनीहरूले यसअघि प्रधानमन्त्री निर्वाचनका वेला सान्चेजलाई नै मत गरेका थिए । त्यसबाहेक सोसलिस्ट पार्टी, तत्कालीन विपक्षी पार्टी पोडेमोस र बास्कजस्ता क्षेत्रीय पार्टीले पनि सान्चेजलाई मतदान गरेका थिए ।

तपाईंको बिचार