Saturday, November 23, 2019

सहमतिबिनै सकियो ट्रम्प–किम वार्ता, पत्रकार सम्मेलन रद्द

प्रकाशित मिति: 2019/02/28

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर सम्मेलनले अपेक्षा गरिए अनुसारको नतिजा ल्याउन नसकेको बताइएको छ । अघिल्लो वर्षको ऐतिहासिक बैठकमा दुवैले उत्तर कोरियाको निशस्त्रीकरण प्रक्रियाबारे सहमतिमा आउँदै सम्झौतामा हस्ताक्षर गरेका थिए । तर एक वर्ष बित्न लाग्दा समेत सो विषयमा कुनै प्रगति नभएपछि दुवै प्रमुखहरुबीच विस्तृत छलफलका लागि दोस्रो भेटवार्ता आयोजना गरिएको थियो ।

तर बिहिबारको वार्ता बिना सहमति टुङ्गिएपछि भने दुवैको संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ भने बैठक पनि सकिएको छ । बैठक सकिएलगत्तै ट्रम्प र किम दुवै आ–आफ्ना होटलतर्फ लागेका थिए । यस्तोमा निर्धारित तालिका परिवर्तन गराई राष्ट्रपति ट्रम्पको एकल पत्रकार सम्मेलन दुई घण्टा अगाडि नै सुरु हुने भएको हो । 

सम्मेलन विफल हुनु दक्षिण कोरियाली राष्ट्रपति मुनका लागि सबैभन्दा निराशाजनक खबर हुने बताइएको छ । यस दोस्रो सम्मेलनमा दुवैले कोरियाली युद्धको आधिकारिक घोषणा हुने पनि बताइएको थियो । तर वार्ता बिना सहमति टुङ्गिनुले यस विषयलाई पनि अनिश्चित बनाइदिएको बताइएको छ । 

तर पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले भने सहमति विफल भएपनि उपलब्धीमूलक वार्ता भएको दाबी गरे । दुवैबीच अझैपनि अत्यन्तै राम्रो सम्बन्ध रहेको र आणविक निशस्त्रीकरणबारे अझैपनि दुई देश सकारात्मक रहेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताए ।

आजको सम्मेलनमा भने कुनैपनि सम्झौतामा हतारमा हस्ताक्षर गर्नु भन्दा दुवै देशलाई केही समय दिएर प्रभावकारी ढङ्गमा अघि बढ्नु नै उचित हुने हुनाले बैठक बीचमै टुङ्ग्याइएको ट्रम्पको भनाइ छ । तरपनि भविष्यमा उत्तर कोरिया कुनै आणविक गतिविधिमा संलग्न नहुनेबारे किमले आफूलाई वचन दिएको उनले संचारकर्मीहरुसँग बताए । 

तपाईंको बिचार