Friday, November 15, 2019

किमले गरे हो चि मिन्हको सम्मान

प्रकाशित मिति: 2019/03/03

हनोई । भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हप्रति उत्तर कोरियाली नेता किम जोङ उनले सम्मान व्यक्त गरेका छन्। भियतनाममा रहेका उनले भियतनामका स्वतन्त्रतावादी तथा क्रान्तिकारी नेता मिन्हप्रति शनिबार श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।

नेता किम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो चरणको वार्ताका लागि भियतनाम आइपुगेका थिए। उनीहरूबीच यसै साता द्विपक्षीय वार्ता भएको थियो। वार्ता सकिएर शनिबार स्वदेश फर्किन लागेका नेता किमले शनिबार बिहान उक्त सीमा क्षेत्रीय गाउँमा पुगी मिन्हप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। मिन्हलाई भियतनाममा स्वतन्त्रता सेनानीका रूपमा सम्मान गरिन्छ। उनको सालिक राखिएको स्थानमा सम्मान व्यक्त गर्न उत्तर कोरियाली नेता किम पुग्दा विशेष सुरक्षा व्यवस्था अपनाइएको थियो।

त्यसपछि शनिवार नेता किम रेल चढेरै उत्तर कोरिया फिर्ता भएका छन्। भियतनामबाटै चीनको राजधानी पइचिङ हुँदै स्वदेश फर्किन लगोका नेता किमले रेलमार्गबाटै करिब चार हजार किलोमिटर यात्रा गर्नेछन्। उनलाई उत्तर कोरिया पुग्न साढे दुई दिन लाग्ने अनुमान गरिएको छ।

सम्मानस्वरुप रातो रिबनबाट बनाइएको विशेष प्रकारको बुट्टा भरिएको वस्तु र विभिन्न रंगका फूल चढाएर उनले श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनले करिब ४८ मिनेटजति शिर निहुराएर मिन्हप्रति सम्मान प्रकट गरेका थिए। त्यस अवसरमा भियतनामको सेनाले विशेष सम्मान पनि अर्पण गरेको थियो।

मिन्ह उत्तर कोरियाली नेता किमका हजुर बुबा किम इल सुङका नजिकको साथी हुन्। युद्धको समयमा उत्तर कोरियाली नेता किम इल सुङले भियतनामलाई हतियार लगायतको सहयोग गरेका थिए। उनका बुबा किम जोङ इलले पनि भियतनामी नेता मिन्हलाई सम्मान गर्थे। त्यसै कारण पनि नेता किमले उनीप्रति विशेष सम्मान अर्पण गरेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको छ।

उत्तर कोरियाली नेताका रूपमा किमको भियतनाम भ्रमण सन् १९६४ पछि यो पहिलो हो। सन् १९६४ मा नेता किमका हजुरबुबा किम इल सुङले भियतनाम भ्रमण गरेका थिए। उत्तर कोरियाका तत्कालीन नेता किम इल सुङले पनि रेलबाटै भियतनाम भ्रमण गरेका थिए। एएफपी 

तपाईंको बिचार