Monday, July 22, 2019

१३ औं चिनियाँ जनकांग्रेस जारी, वैदेशिक लगानी मजबुत बनाउने राष्ट्रपति सी को भनाई

प्रकाशित मिति: 2019/03/10

२६ फागुन, काठमाडौं । चीनले वैदेशिक लगानीसम्बन्धी नयाँ नीति तर्जुमा गरेको छ । यसै वर्षभित्र परिमाणलाई स्थिर पार्ने, गुणस्तरलाई माथि उकास्ने र शक्ति सुधार गर्ने जस्ता तीनवटा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तर्जुमा गरिएको छ ।

वैदेशिक व्यापारको स्थिरताका साथ गुणस्तरको वृद्धिलाई अघि बढाउने उद्देश्यले तयार पारिएको नयाँ कानुनको मस्यौदा तेह्रौं राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनमा पेश भएको छ ।
तीन मार्चदेखि चिनियाँ जनराजनीति परामर्श दातृ सम्मेलन (सीपीपीसीसी) र पाँच मार्चदेखि चिनियाँ जनकांग्रेसको बैठक बेइजिङमा जारी छ । सबैले बुझ्ने भाषामा यसलाई चिनियाँ संसदको अधिवेशन भनिन्छ ।

‘करिब २ हजार ९ सय जना राष्ट्रिय जनप्रतिनिधिहरू विदेशी लगानी कानूनको मस्यौदाको लेखाजोखा गरिरहेका छन, चाइना रेडियो इन्टरनेशनल (सीआरआई)ले लेखेको छ । ६ अध्याय अर्थात् २१ धारा रहेको कानूनको मस्यौदामा वैदेशिक लगानीको प्रवेश, प्रवर्द्धन, सुरक्षा लगायत विषय समेटिएका छन् ।

१५ मार्चमा सकिने अधिवेशनमा अघिल्लो वर्षको समिक्षा गर्दै आगामी नीति तथा योजना तय गरिनेछ । यस वर्षको अधिवेशनमा मुख्य गरी तीनवटा कुरा वैदेशिक लगानीको नयाँ कानुन निर्माण, उच्च गुणस्तरको विकासको लागि आधारशिला निर्माण र सन् २०२२ मा चीनलाई मध्यमस्तरको सम्मुनत राष्ट्र निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
शनिबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सचिव वाङ हुनिङ, उपप्रधानमन्त्री हान चङलगायतका नेताहरु तेह्रौं राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनमा सहभागी भएका थिए ।

चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जनकांग्रेसमा पेश गरिएका प्रतिवेदनबारे आफ्नो धारणा राख्दै चिनियाँ राष्ट्रपति सीले व्यापारको वातावरण अझ राम्रो बनाउन सरकार प्रयासरत रहेको बताए । व्यापार वातावरण अझ राम्रो बनाउन सरकार तथा पार्टी लागिपरेको तर सबैभन्दा राम्रो अवस्था भने भैनसकेको उनको भनाइ थियो ।

चीनले राष्ट्रिय आर्थिक प्राविधिक विकास क्षेत्र, उच्च र नयाँ प्रविधि उद्योग क्षेत्रको समर्थन स्वतन्त्र व्यापार परिक्षात्मक क्षेत्रलाई अझ ठूलो नवीन अधिकार दिने योजना बनाएको छ । ती योजनाहरूबाट विदेशी लगानी लगायत बजारमा थप जीवन्त शक्ति र नवीन क्षमता प्रोत्साहन गरिने छ । ‘यसबाट चीन र विश्व अर्थको मिलन अझ घनिष्ट हुनुका साथै लगानीको लागि चीन अझै आकर्षक गन्तव्य हुँदै जानेछ,’ सीले भने ।

विश्वमा सबभन्दा ठूलो विकासोन्मुख मुलुक चीनमा व्यापार वातावरण तथा अन्तर्राष्ट्रियस्तरको व्यापार वातावरण बीच ठूलो अन्तर रहिरहेकाले यसलाई साँघुरो पार्न चीनले खुलापनलाई विस्तार गर्दै जाने राष्ट्रपति सीले बताएका छन् ।

अधिवेशनको अवधिभर प्रत्येक दिन एक एक जना मन्त्रीले पत्रकार सम्मेलन आयोजना गर्दछन् । शनिबारको पत्रकार सम्मेलनमा चिनियाँ वाणिज्य मन्त्री चुङ शानले यसै वर्ष चीनले परिमाणलाई स्थिर पार्ने तथा गुणस्तरलाई माथि उकास्ने र शक्ति सुधार गर्ने जस्ता तीनवटा क्षेत्रबाट वैदेशिक व्यापारको स्थिरताका साथ गुणस्तरको वृद्धिलाई अघि बढाउने जानकारी दिए ।

उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) ले सदस्य राष्ट्रहरुलाई विकासमा सघाउ पुग्ने बताए । पत्रकार सम्मेलनमा उनलाई बीआरआईले ऋणको भार पनि बढाउन सक्ने आशंकासहित प्रश्न गरिएको थियो । विकास पनि खोज्ने र ऋणबाट पनि डराउने स्थिति हुन नहुने उनले जवाफ दिए । प्रतिप्रश्न गर्दै चिनियाँ वाणिज्य मन्त्रीले भने, ‘उनीहरुलाई विकास चाहिएको छ र पूर्वाधारविना विकास कसरी हुन्छ ?’
कार्यक्रममा चिनियाँ उपवाणिज्य मन्त्री छ्यान खमिङले सम्बन्धित देशहरूसँगै लगानीकर्ताका लागि सार्वजनिक, स्पष्ट तथा सुविधाजनक वातावरण निर्माण गरी खुलापनगत विश्व अर्थतन्त्रको निर्माणलाई अघि बढाउन इच्छुक रहेको बताए । साथै उनले चीनको वैदेशिक लगानी विश्वमा वैदेशिक प्रत्यक्ष लगानी बढाउने महत्वपूर्ण इन्जिन बनिसकेको जानकारी पनि दिए ।
सन् २०१८ विश्वमा अन्तर्राष्ट्रिय लगानी १९ प्रतिशतले घटे तापनि चीनले भित्राएको वैदेशिक लगानी ७ प्रतिशतले बढेको थियो । चिनियाँ वाणिज्य मन्त्रालयबाट प्रकाशित पछिल्लो तथ्यांक अनुसार, यसै जनवरी महिनामा चीनबाट वास्तविक प्रयोग गरिएको विदेशी पूँजी गत वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढी भएको देखिन्छ । चीनका लागि अमेरिका र हल्याण्डको लगानी छुट्टाछुट्टै रूपमा १२४.६ र ९५.६ प्रतिशतले बढेका सीआरआईले उल्लेख गरेको छ ।
सन् २०१८ चिनियाँ सर्वोच्च आधिकारिक संस्था अर्थात् राष्ट्रिय जन कांग्रेसले वैदेशिक लगानी कानूनलाई तत्कालीन विधानमा समावेश गरेको थियो ।

तपाईंको बिचार