Tuesday, May 21, 2019

बोइङ म्याक्स ७३७ विमान उडाउन सिंगापुरले लगायो रोक

प्रकाशित मिति: 2019/03/12

२८ फागुन, सिंगापुर । सिंगापुरको वायु सेवा निगमले बोइङ म्याक्स ७३७ मोडेलको विमान अर्को सूचना नआएसम्मका लागि उडान नगर्न आदेश दिएको छ। सिंगापुरले बोइङको सूरक्षा प्रणालीमा प्रश्न उठाउँदै हाललाई म्याक्स मोडेलको सबै विमानमा प्रतिबन्ध लगाएको हो।  

सोमबार चीनको वायु सेवा निगमले आफ्ना स्थानीय वायु सेवा कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमान नचलाउन आदेश दिएको थियो। दुर्घटनामा चीनका ८ नागरिकको मृत्यु भएको थियो।

आइतबार इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको उक्त विमान उडेको केही मिनेटमा नै दुर्घटना भएको थियो।

बोइङ म्याक्स ८ मोडेलको इथियोपियन एयरलाइन्सको सो विमान दुर्घटना हुँदा विमानमा सवार एक नेपाली सहित १५७ जनाको मृत्यु भएको थियो। विमानमा ३५ देशका नागरिकहरु सवार थिए भने केहीले संयुक्त राष्ट्रसंघको राहदानी प्रयोग गरेका थिए।

त्यस्तै इन्डोनेसिया, इथियोपिया, केमन टापुको केमन एयरलाइन्सले पनि वोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकेको छ।

विश्वभर सो मोडेलको ३५० विमानहरुले व्यवसायिक उडान गरिरहेको छ। बोइङले उक्त विमानहरु गत वर्षमात्रै निर्माण गरि बेच्न थालेको थियो।

तर निर्माण भएको एक वर्षभित्र सोही मोडेलका दुई विमान दुर्घटना भएपछि बोइङलाई ठूलो धक्का लागेको छ।

पछिल्लो पाँच महिनामा ७३७ म्याक्स ८ मोडेलको विमान दुईपटक दुर्घटना भइसकेको छ। गत अक्टोबरमा लायन्स एयरको सोही मोडेलको विमान दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार १८९ जनाको मृत्यु भएको थियो।

तपाईंको बिचार