Tuesday, May 21, 2019

ईजरायल प्यालेष्टाईन तनाब : गाँजापट्टिमा आक्रमण, लडाकुसहित ४ प्यालेस्टाईन मारिए

प्रकाशित मिति: 2019/05/05

२२ वैशाख, काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइन क्षेत्रमा आक्रमण गर्दा १४ महिने शिशुसहित चार जनाको मृत्यु भएको छ । चरमपन्थी समूहले २ सयभन्दा बढी रकेटबाट इजरायली क्षेत्रमा आक्रमण गरेपछि आफूले जवाफी कारबाही गरेको सेनाले जनाएको छ । चरमपन्थी समूहले गरेको आक्रमणबाट तीन जना घाइते भएको सेनाको भनाइ छ ।

दक्षिण इजरायलमा रकेट आक्रमण हुन थालेपछि खतराको संकेतस्वरुप साइरन बजाइएको थियो । त्यसपछि मानिसहरु लुक्नका लागि सुरक्षित स्थानतिर भागेका थिए ।
इजरायलमा अप्रिलमा भएको चुनावको बेला दुवैतर्फबाट संघर्षविराम भएको थियो । तर, अहिले फेरि तनाव बढेको छ । संयुक्त राष्ट्रसंघले संघर्षविराम लम्बाउने प्रयास गर्दागर्दै तनाव बढेको बीबीसीले जनाएको छ ।

गाजापट्टीको सीमावर्ती इजरायलको क्षेत्रमा शनिबार भएको रकेट आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)का अनुसार प्रतिरक्षा प्रणालीबाट केही रकेटहरुलाई आकाशमै निस्तेज पारिएको थियो ।
यस हमलाको जवाफमा आईडीएफले हमासको प्रभाव क्षेत्र रहेको गाजाको तीन स्थानमा हवाई र ट्यांकमार्फत् आक्रमण गरेको थियो । आक्रमणको निसाना इस्लामिक जिहादलाई पनि बनाइएको थियो ।
इस्लामिक जिहादले शुक्रबार सेनाले गरेको आक्रमणको जवाफमा आफूहरुले रकेटमार्फत् हमला गरेको जनाएको छ । इजरायल सरकारले संघर्ष विरामको सम्झौता उल्लंघन गरेको यस समूहको आरोप छ ।
हिंसाको सुरुवात शुक्रबार गाजामा साप्ताहिक रुपमा हुँदै आएको प्रदर्शनबाट भएको थियो । यो प्रदर्शन इजरायलको गर्दै आएको नाकाबन्दीको विरोधमा थियो । इजरायलका अनुसार गाजासम्म हतियारको पहुँच रोक्नका लागि नाकाबन्दी जरुरी छ ।

सीमा क्षेत्रमा प्यालेस्टाइनको एक हतियारधारी व्यक्तिले इजरायलका दुई सैनिकलाई गोली हानेर घाइते बनाइदिए । यसको जवाफमा इजरायलले हवाई हमला र्गयो र हमासका दुई लडाकुको मृत्यु भयो । अन्य दुई जना प्यालेसटाइनीको पनि मृत्यु भयो । प्यालेस्टाइनीले मृतकको शनिबार अन्तिम संस्कार गरे । त्यसपछि रकेट हमला पनि भयो ।
हमासका प्रवक्ता अब्देल लतीफ अल कनोआले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन, ‘कब्जा गर्नेहरुबाट हुने अपराधको यस क्षेत्रका जनताले जवाफ दिइरहने छन् र हामी हाम्रा मानिसको रगत बगाउन अनुमति दिँदैनौं ।’
उनले हमासको तर्फबाट रकेट आक्रमणको दाबी भने गरेका छैनन् ।
गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टाइनी छन् । इजरायलले गरेको नाकाबन्दीका कारण यहाँका जनता आर्थिक रुपमा समस्या भोग्दै आएका छन् । हालै यहाँ विदेशी सहयोग पनि कटौती गरिएको छ ।

तपाईंको बिचार