Thursday, October 19, 2017

पर्यटन प्रवद्र्धनका लागि बुद्धसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको तयारी

प्रकाशित मिति: 2015/09/24

बेल्जियमको ब्रसेल्समा आगामी मङ्सिर १४ र १५ गते गौतम बुद्ध र लुम्बिनीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय रुपमा गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा सोसम्बन्धी भएका विवादलाई निस्तेज पार्न र बेल्जियममा बुद्धको दर्शनलाई आधिकारिक मान्यता दिलाउने उद्देश्यले लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सम्मेलन गर्न लागेको हो । 
सम्मेलनको आयोजनाबाट नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने अपेक्षा लिएको अभियानका यूरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले बताए । सम्मेलनको मूल आयोजक समितिमा केही बेल्जियम नागरिकलाई समेत संलग्न गराउने प्रयासस्वरूप गैरआवासीय नेपाली संघ बेल्जियमका संस्थापक अध्यक्ष तथा बेल्जियम–नेपाल मैत्री सङ्घका उपाध्यक्ष रवीन्द्रमान श्रेष्ठको नेतृत्वमा उपसमिति चयन गरिएको आचार्यले जानकारी दिए ।
उक्त सम्मेलनका लागि झण्डै ५० हजार यूरो लाग्ने अनुमान गरिएको छ । 
सम्मेलनको आयोजनाबाट नेपालको पर्यटन प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई पनि सकारात्मक प्रभाव पार्ने अभियानको विश्वास छ । सम्मेलनका लागि ठूलो बजेट आवश्यक पर्ने देखिएकाले अर्थ सङ्कलनलाई प्रभावकारी रूपमा अघि बढाउन गत आइतवार ब्रसेल्समा छलफल कार्यक्रमको आयोजना गरिएको अभियानका यूरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले जानकारी दिनुभयो । सो अवसरमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सल्लाहकार युवराज गुरुङले सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्न सके नेपाल र बेल्जियमवासी नेपालीको प्रतिष्ठा बढ्ने बताउनुभयो ।

 

तपाईंको बिचार