Friday, November 15, 2019

अमेरिका–चिन व्यापार युद्ध उत्कर्षमा, राष्ट्रपति सीले भने,–‘अमेरिका सँग नझुक्नु’

प्रकाशित मिति: 2019/05/08

बैशाख २५, काठमाण्डौ । दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच झन्डै ८ महिनादेखि जारी व्यापार युद्ध तत्काल नटुंगिने छाँट देखिएको छ ।

अहिलेसम्म वासिङट्न र बेइजिङमा १० पटक वार्ता भएका छन । अर्को वार्ता यही साता वासिङट्नमा हुँदैछ । उक्त वार्तामा चिनियाँ उपप्रधानमन्त्री लिऊ हे पनि सहभागी हुँदैछन । तर यो वार्ताबाट सुखद परिणाम निस्कने सम्भावना भने झिनो छ ।
दुबै पक्षले परिणामोन्मुख भनिरहेको वार्ता प्रक्रियालाई यही साता  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धिमा गतिमा चलेको र चिनियाँ पक्ष आफ्नो पहिलाको प्रतिवद्धताबाट पछि हटेको बताए। वार्ता नटुंगिए आगामी शुक्रबारदेखि थप २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने उनको घोषणा छ। चीनबाट अमेरिका आउने थप ३२५ अर्ब डलरका सामान पनि करमुक्त नहुने ट्रम्पको भनाइ छ । कतिपयले ट्रम्पको यो घोषणा वार्ताका क्रममा चीनलाई झुकाउने रणनीतिका रूपमा अर्थ्याएका छन्। 

चिनियाँ पक्षले भने ट्रम्पको यस्तो घोषणाले व्यापार वार्तामा आफूहरू नझुक्ने स्पष्ट सन्देश दिएको छ।
राष्ट्रपति सी चिनफिङले व्यापार वार्ताकारहरूलाई अमेरिकासँग नझुक्न भनेका छन ।
व्यापार वार्ताकारहरूले अलि वार्ताको नरम प्रस्ताव सीसमक्ष पेस गरेका थिए। तर सीले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै व्यापार वार्ता असफल भए अमेरिकाले बढाउने करपछिको सम्भावित आर्थिक परिणामको जिम्मा आफूले लिने बताएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले ट्रम्पको घोषणा पछि चीन पछि हट्छ भन्ने कुरा अमेरिकाले नसोचे पनि हुने टिप्पणी प्रकाशित गरेको छ ।

‘राष्ट्रपति सी र उनको प्रशासन अडिग छ, चुनौतीको सामना गर्नबाट पछि हट्ने कुनै संकेत देखाएको छैन,’ राजनीतिक विश्लेषक चेन दाओयिनले भने,‘सीको चीनलाई बलियो राष्ट्र बनाउने सपनाले पनि उनका सहकर्मीहरूको बाहिरी विषय सुल्झाउन चाहिने क्षमता र लचकतालाई सीमित पारेको छ ।

उनले पछिल्लो दुई महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोले व्यापार युद्धलाई प्राथमिकता दिएर छलफल नगरेकाले राष्ट्रपति सी पछि हट्ने पक्षमा नरहेको देखिने बताए ।
‘भर्खरै भएको पोलिटब्युरो बैठकले गत फेब्रुअरीमा जस्तो आर्थिक स्थिरतालाई केन्द्रमा राखेर छलफल गरेन। यसले के देखाउँछ भने अमेरिकी करले चिनियाँ अर्थतन्त्रलाई तहनहस पार्न सक्दैन भन्ने उनीहरूको बुझाइ छ,’ चेनले भने।

चीनले आगामी अक्टोबरमा जनगणतन्त्रको ७० औं वर्षगाँठ मनाउँदै छ। एसिया, अफ्रिका र युरोपलाई जल र जमिनले जोड्न बेल्ट एन्ड रोड परियोजना ल्याएका सीले यो वर्ष चीनको हार भएको सन्देश जाने कुनै किसिमका सम्झौता गर्न चाहँदैनन ।  त्यसैले उनले वार्ताकारलाई नझुक्न भनेका हुन ।

यसअघि वार्ताका क्रममा चीनले सरकार नियन्त्रित उद्योग व्यवसायमा दिने अनुदान घटाएर खुला बजार बनाउने, वौद्धिक सम्पत्तिको संरक्षण र अमेरिकाबाट आयात गर्ने सामानको मात्रा बढाउनेमा सहमति गरेको थियो ।

 

तपाईंको बिचार