December 7, 2022, Wednesday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

द्वन्द्वात्मक भौतिकवादी दर्शनका प्रवर्गहरू

१ वर्ष अगाडि

दर्शनको सबैभन्दा सानो धारणालाई प्रवर्ग भनिन्छ । दर्शनको विकास प्रवर्गहरूबाट हुन्छ । पूर्वीय दर्शनमा सात प्रवर्गलाई मान्यता दिइएको छ, जुन वैशेषिक दर्शनले अगाडि सारेको थियो । ती थिए– द्रव्य, गुण, कर्म, सामान्य, विशेष, संयोगर अभाव ।

त्यस्तै पश्चिमको प्राचिन दर्शनमा एरिस्टोटलको दश प्रवर्गले मान्यता पाएको थियो । ती दश प्रवर्गहरू हुन् – द्रव्य, गुण, मात्रा, सम्बन्ध, स्थान, समय, अवस्था, अवस्थिति, कार्य र कर्म । माथि उल्लेख गरिएका प्रवर्गहरू अधिभूतवादी प्रवर्ग हुन् । यी प्रवर्गहरूलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनले स्वीकार गर्दैन ।

Advertisement

द्वन्द्ववादी दर्शनका प्रवर्तक हेगेलले प्रवर्गलाई सत्ता, सार र धारणाको सिद्धान्तको रूपमा व्याख्या गरेका छन् । ती द्वन्द्ववादी प्रवर्गहरू हुन् । अधिभूतवादी धाराले प्रवर्गहरूलाई अपरिवर्तनीय मान्दछन्, तर द्वन्द्ववादी धाराले परिवर्तनीय र एक-अर्कामा रुपान्तरण हुने कुरा मान्दछन् ।

यहाँ हामी द्वन्द्ववादी प्रवर्गको तीन सिद्धान्तका बारेमा छोटो चर्चा गर्दछौं ।

सत्ताको सिद्धान्त ( Dictrine of being )

यस सिद्धान्तले सत्ताका बारेमा गहिरो र वैज्ञानिक रूपमा व्याख्या गर्दछ । सत्ताको सिद्धान्तलाई पनि गुण, मात्रा र माप गरि तीन भागमा बाँडेर अध्ययन गरिन्छ ।

गुण

प्राथमिक चरणमा देखा पर्ने वस्तुको रुपलाई गुण भनिन्छ । वस्तु पहिला गुणको रुपमा देखा पर्दछ । अनि गुणले अनिवार्य मात्राको अपेक्षा गर्दछ । किनकी कुनै पन वस्तु अस्तित्वमा रहनका लागि एक अर्कोमा रुपान्तरण हुन जरुरी छ । तसर्थ वस्तु गुणमा देखा परेपछि अनिवार्य रूपमा मात्रामा बदलिन्छ ।

जुन स्वभावले वस्तुलाई अन्य वस्तुहरूबाट अलग्याएको हुन्छ, अन्य अनगिन्ति वस्तुहरूबाट छुट्याएको हुन्छ, त्यसैलाई गुण भनिन्छ । सबै वस्तु र घटनाहरू गुणले युक्त हुन्छन् । त्यसैले हामी वस्तुलाई चिन्न र छुट्याउन सक्दछौँ ।

अलग–अलग सामाजिक घटनाहरू पनि गुणात्मक दृष्टिले नै फरक हुन्छ । जस्तौ केहि समाजमादी देशहरूमा सयौँ कृषि सहकारी संस्थाहरू देखिन्छन् । प्रत्येक संस्था किसानहरूको निश्चित संख्याद्वारा बनेका हुन्छन् । परन्तु ती संस्था भनेका सदस्यहरूको सामान्य योग मात्र होइन, यो त किसानहरूको सामूहिक संस्था, सामूहिक जीवन कै थालनी, नयाँ सम्बन्धको सुरुवातको कारणले गुणात्मक रूपमा नै एक नयाँ प्रकारको संस्था हो ।

स्वभावहरूमा नै वस्तुको गुणको अभिव्यक्ति पाइन्छ । स्वभावले एउटा पक्षको उद्घाटन गर्दछ तर गुणले समष्टिगत रूपमा वस्तुको परिचय दिन्छ ।

मत्रा

प्रत्येक वस्तु निश्चित गुणको साथै मात्राले पनि युक्त हुन्छ । सामान्य बुझाईमा जस्तो मात्रा असिमित हुँदैन । जुन कुरा वस्तुमा थप या घट हुने कुराले उक्त वस्तुको गुणात्मक परिवर्तन आउँदैन । खाली वस्तुको आकार, आयतन र स्थरमा मात्र परिवर्तन आउछ, त्यो मात्र हो । जस्तै १०० डिग्री सेल्सियसमा पानी उम्लने स्थानमा ९९ डिग्रीसम्मको प्रत्येक डिग्री मात्रा हो ।
सामाजिक घटनामा पनि मात्रात्मक लक्ष्यण स्वभाविक हुन्छन् । नेपालको राजतन्त्र ढाल्ने १९ दिने जनआन्दोलन अगाडिका घटनाहरू मात्रात्मक विकास थियो । मात्राले आफ्नो निश्चित मात्राको विकास पुरा गरेपपछि उक्त वस्तु वा घटनामा गुणात्मक परिवर्तन लिएर आउँछ ।

मात्रा र गुणमा एकत्व हुन्छ । किनकि तिनले एउटै वस्तुको विभिन्न पक्षहरूको प्रतिनिधित्व गर्दछ र पनि यिनीहरूमा ठूलो अन्तर हुन्छ । मात्रामा हुने परिवर्तनले निश्चित हदसम्म वस्तुमा कुनै स्पष्ट परिवर्त भएको देखिँदैन तर गुणमा हुने परिवर्तनले वस्तुमा नै परिवर्तन भई नयाँ वस्तु निर्माण हुन्छ । त्यसका लागि मात्राको विकास गुणको बराबरीमा पुगेको हुनुपर्छ । अर्थात् मात्राको विकास गुणको बराबरीमा पुगेपछि मात्र त्यसले गुणात्मक परिवर्तन ल्याउन सक्दछ । जस्तो कि ९९ डिग्री र १०० डिग्री तातो पानीको तापको मात्रामा र हामीले छुने हो भने पनि अनुभूतिमा त्यति फरक हुँदैन । तर गुणमा हेर्ने हो भने ९९ डिग्री ताप भएको पानी पानीकै रुपमा देखा पर्दछ भने १०० डिग्री तापमात्रामा (१०० डिग्री तापमा पानी उम्लने स्थानको हकमा) पानी वाफको रुपमा देखा पर्दछ । त्यसकारण कुनै वस्तु र घटनाको गुण बराबरको मात्रा पुग्यो भने उक्त वस्तु/घटनामा गुणात्मक परिवर्तन आउँछ ।

माप

सर्वमान्य र सर्वस्वीकार्य इकाइ वा मान्यतालाई माप भानिन्छ, जुन विश्वव्यापी हुन्छ । एक किलो बराबर कति मात्रा हुने भन्ने कुरा विश्वभरी समान छ, सर्वमान्य छ । ग्रिन विजको घडिले तोकेको समय फिक्स छ, सर्वस्वीकार्य छ । त्यसकारण माप हुन लामो प्रक्रियाबाट गुज्रनु पर्दछ । पहिला वस्तुको लामो समयको प्रयोग वा सम्बन्धबाट उक्त वस्तुको गुण थाहा हुन्छ । गुण थाहा भएपछि त्यस वस्तुको गुण जति हो त्यति नै मात्रा जोडेपछि त्यो माप हुन्छ र माप सर्वमान्य हुन्छ । त्यसकारण गुण र मात्राको एकत्व/संयोजनलाई माप भनिन्छ । जस्तै, एक के.जी. बराबरको ढकमा जोखेर सामान किन्दा त्यो सामानको मात्रा कति हुन्छ भन्ने कुरा निश्चित छ । यदि त्यसको निश्चित मात्रामा घटबढ भयो भने त्यो माप हुँदैन । किनभने त्यो सर्वमान्य हुँदैन ।

माप भनेको एक किसिमको सीमा/परिधि हो । मात्रात्मक र गुणत्मक पक्षहरूको संयोग विन्दु हो जसभित्र वस्तु आफ्नै स्वभाविक रूपमा रहन्छ । मापको जुन विन्दु हुन्छ, त्यो विन्दुसम्म वस्तुको गुणमा परिर्तन हुँदैन । जब मापविन्दुको उलघंन हुन्छ तब वस्तुको रूप पनि बदलिन्छ र त्यो अर्कै वस्तुमा रूपान्तरण हुन्छ । पानीको ताप धारण क्षमता १०० डिग्री हुन्छ । १०० डिग्री ताप पुग्ने वित्तिकै पानी वाफमा रूपान्तरण हुन्छ । त्यसैगरी पानीको अर्को माप H2O हो । तर यसमा ‘o’ को मात्रालाई बढाएर O2 बनाइदिने हो भने त्यो भिन्नै यौगिक H2O2 अर्थात् प्याराअक्साइड बन्दछ ।

माक्र्सले गुण, मात्रा र मापको नियम अनुसरण गरेर पूँजी लेखेका थिए । गुणबाट मात्रा, मात्राबाट माप, मापबाट द्रव्य र द्रव्यबाट मुद्रा बन्दछ । व्यापारिक जगतामा मुद्रा माप हुन्छ । जब मुद्राले अतिरिक्त आम्दानी गर्न थाल्दछ, तब त्यो मुद्रा पूँजीमा रूपान्तरण हुन्छ । द्वन्द्ववादको नियममा एक अर्कोमा बदलिने भएकाले सत्ताको सिद्धान्तको माप (मुद्रा) सारको सिद्धान्तमा गएर सार बन्दछ । अर्थात् माप नै सार हो ।

सारको सिद्धान्त (Dictrine of essence)

द्वन्द्ववादी प्रवर्गको दोस्रो सिद्धान्त हो– सारको सिद्धान्त । कुनै पनि वस्तु या घटनाको वास्तविकताको अध्ययन गर्ने सिद्धान्तलाई सारको सिद्धान्त भनिन्छ । सारको सिद्धान्तका पनि तीन पक्ष हुन्छ– सार, रूप र वास्तविकता ।

सार र रूपः

सार भनेको कुनै पनि वस्तुको मूल पक्ष हो, जुन स्थाई हुन्छ । सर्वमान्य हुन्छ । सारको स्थाइत्व रूपको सापेक्षतामा हुन्छ । रूप अस्थाइ र परिवर्तशील हुन्छ भने सार रूपको सापेक्षतामा अपरिवर्तनीय र स्थाइ हुन्छ । रूप भनेको सारको अभिव्यक्ति हो । सारले आफूलाई रूपमा प्रस्तुत गर्दछ । रूपले एक समयमा सबै सारको अभिव्यक्ति गर्न सक्दैन । यसले एक–एक पक्षको क्षणिक अभिव्यक्ति मात्र गर्नसक्छ । तसर्थ एउटै सारको अनेक रूप हुने भएकाले कुनै पनि वस्तुको सार थाहा पाउन लामो प्रकृया लाग्दछ । सार र रूपलाई कारण कार्य पनि मान्न सकिन्छ ।

सार भनेको कुनै पनि निश्चित वस्तु वा घटनाको निर्माण गर्ने तत्वहरू र प्रकृयाहरूको समुच्चय हो । रूप त्यसको संरचना हो । त्यसैले तत्वहरू र तिनका गतिसित सम्बन्धित प्रकृयाहरूद्वारा रासायनिक तत्वको परमाणुको सार निर्मित हुन्छ । तिनै तत्वको संगठन र परमाणुमा तिनको अवस्थितिको क्रमबद्धताले नै परमाणुको रूप निर्धारण गर्दछन् ।
सामातिक घटनामा पनि सार र रूप स्वभाविक हुन्छन् । लेनिनले ‘राज्य सत्ता’ भन्ने पुस्तकमा भनेका छन्– ‘‘पूँजीवादीहरूको रूप अनेक छन् तर तिनीहरूको सार एउटै हो । पुँजीवादी राज्य सत्ताको सार भनेको पूँजीपती वर्गको अधिनायकत्व नै हो ।’’

उत्पादक शक्तिहरू ऐतिहासिक दृष्टिले निश्चित उत्पादन–पद्धतिको सार हो र उत्पादन सम्बन्धहरू त्यसको रूप हो । त्यसकारण वस्तुको सार आएको परिवर्तनसँगै रुपमा पनि अनिवार्य परिवर्तन आउछ । जस्तो कि उत्पादक शक्तिमा आएका परिवर्तनहरूले उत्पादन सम्बन्धमा पनि परिवर्तन आउछ ।

सार र रूपको अन्तर्सम्बन्ध

हेगेलका गुरु तथा जर्मन आइडोलोजिका प्रथम दार्शनिक कान्ट भन्छन्– ‘‘वस्तुको सार र रूप हुन्छ । रूप पक्ष जान्न सकिन्छ तर सार पक्ष जान्न सकिँदैन । त्यसकारण रूप र सारमा भिन्नता छ । अपुरणीय खाडल छ । त्यसलाई कारण कार्यमा हेर्न सकिँदैन ।’’ कान्ट अज्ञयवादी दार्शनिक थिए । कान्टको भनाइ छ–‘‘Thing –in –itself.’’

हेगेलका अनुसार– सार र रूपका बीचमा अनिवार्य सम्बन्ध छ । त्यही रूप सार हुन्छ र त्यही सार रूपमा बदलिन्छ । रूप एउटा क्षण हो, मुभ्मेन्ट हो । त्यो रूपमा देखा पर्नु अगाडि सारको रूपमा हुन्छ । जस्तै, कुखुराका अण्डामा सारको अवस्थामा चल्ला हुन्छ । निश्चित मापदण्ड पुरा गरेपछि चल्ला रूपमा देखा पर्दछ । एउटा बम सारमै सारमै विस्पोटक पदार्थले भरिएको हुन्छ र रूपमा त्यो विस्फोट हुन्छ । हेगेलका अनुसार, कान्टको Thing –in –itself. Thing –in –other मा बदलिन्छ ।

एउटा वस्तुको सार एउटै समयमा दुईटा हुँदैन । वस्तुहरू निजबाट वस्तु स्वंयमा बदलिन्छ । सार र रूप एक अर्को विना अस्थित्वमा रहन सक्दैनन् । सारले नै रूपको निरुपण गर्दछ । सारका अनेकन रूपहरू एकपछि अर्को गर्दै लामो प्रकृयाबाट देखा परिसकेपछि सार रूपमा र रूप सारमा बदलिन्छ । तसर्थ कुनैपनि वस्तुको सार थाहा पाउन उक्त वस्तुको सबै सार पक्ष रूपमा देखा परेको हुनुपर्दछ ।

वास्तविकताः

सार र रूप बराबरीको अवस्थामा अर्थात् उस्तै अवस्थामा देखा परेपछि त्यो वास्तविकता हुन्छ । सारको सिद्धान्तमा सार–गुण, रूप–मात्रा र वास्तविकता–माप हो भन्न सकिन्छ । सार र रूपको संयोजन नै वास्तविकता हो ।

माक्र्स–एंगेल्सले पनि सार र रूपको सिद्धान्त हेगेलबाटै सापटी लिएका हुन् । सार र रूपको सम्बन्धमा माक्र्सको एउटा भनाइ छ– ‘‘यदि सार र रूप एउटै हुन्थ्यो भने सारा विज्ञान काम नलाग्ने हुन्थ्यो ।’’ (If essence and appearance will be where the same, then all science would be useless. )

धारणाको सिद्धान्त ( Dictrine of concept)

धारणा चिन्तन प्रकृयाको अन्तिम रूप हो । चिन्तन प्रकृया पहिला सत्ताको रूपमा आउँछ । त्यो ठोस/मूर्त हुन्छ । सत्ताको स्वरूप देखिने खालको र अस्थाइ हुन्छ । सत्ता मान्छेका इन्द्रीयहरूले जान्न सक्ने स्वरूपमा हुन्छ । त्यही सत्ता सारमा पुग्दा बुझ्न कठिन हुन्छ । सार भनेको सत्ताको निचोड हो ।

सारबाट धारणाको विकास हुन्छ । चिन्तन प्रकृया धारणासम्म आइपुग्दा त्यो सामान्य बुझाइका निम्ति बुझ्न नसकिने अमूर्त हुन्छ । धारणा इन्द्रीयहरूले बुझ्न र देख्न सक्ने विषय नै होइन । तर धारणा इन्द्रियजन्य चेतनाका लागि मात्र अमूर्त हो । वास्तवमा धारणा सत्ता र सार भन्दा ज्यादा मूर्त र विश्वव्यापी हुन्छ । स्थाइ प्रकृतिको हुन्छ । धारणा विश्व–ब्रमाण्डको समग्र व्याख्या गर्न सक्ने उच्च तहमा हुन्छ । तर धारणा पनि प्राथमिक चरणमा व्यष्टिको रूपमा देखा पर्दछ । धारणाको सिद्धान्त अन्तर्गत तीन पक्षहरू पर्दछन्:

१) व्यष्टि (Indivisual)
२) विशेष (particuler)
३) सार्विक (Universul)

व्यष्टि (Indivisual)

जुन वस्तुलाई टुक्र्याउदा त्यसको अस्थित्व रहदैन त्यस्तो वस्तुलाई व्यष्टि भनिन्छ । व्यष्टि भनेको अभिभाज्य वस्तु हो । व्यष्टि अन्यबाट भिन्न हुन्छ ।
सुरुमा जे देखिन्छ त्यो नै व्यष्टि हुन्छ । तर व्यष्टि पनि धेरै कुरा मिलेर बनेको हुन्छ । जे मिलेर व्यष्टि बनेको छ त्यो जान्नु विशेष हो । व्यष्टि अस्थाई हुन्छ, यो परिवर्तनशील हुन्छ ।

विशेष (particuler)

व्यष्टिलाई टुक्र्याउदा विशेष बन्छ । जस्तै परमाणु व्यष्टि हो भने त्यसलाई इलेक्ट्रोन, न्युट्रन र प्रोटनमा विभाजन गर्नु विशेष हो । हरेक विषयलाई खण्ड–खण्डमा अध्ययन र विश्लेषण गर्ने कार्य विशेष हो । यो दर्शनको विश्लेषणको चरण हो । एउटा जीवको शरिरलाई प्रत्येक अंग–प्रत्यांगमा विभाजन गरेर अध्ययन गर्नु विशेष हो । वस्तुमा हुने विषेश व्यष्टिको सापेक्षतामा स्थाई हुन्छ । सर्वव्यापी हुन्छ । पुन ती अलग–अलग विषेशलाई जोडेर समष्टि बन्छ ।

सार्विक/समष्टि(Universul)

कुनै पनि वस्तु सबैभन्दा पहिला व्यष्टि÷व्यक्ति हुन्छ र अभिभाज्य हुन्छ । त्यसलाई विभाजन गरेर हेर्ने कार्यबाट त्यो वस्तु विशेष बन्दछ । कुनै पनि वस्तुलाई विभाजन गरेर त्यसको विशेष रूप जानेपछि पुनः त्यसलाई सुरुकै अवस्थामा ल्याउने वा संश्लेषण गर्ने कार्य सार्विक हो । यसरी पहिलेको रूपमा ल्याउन सकिने गरी गरिएको विभाजनले वस्तुलाई सार्वभौम बनाउछ ।

उदाहरणका लागि एउटा मानिसलाई विभाजन गरेर अध्ययन गरियो भने पृथ्वीका सबै मानिसको विभाजन त्यही एउटा मानिसको आधारमा गर्नसकिन्छ । त्यसैगरी एउटा विभाजन गरिएको मानिसलाई पुनः व्यष्टिको अवस्थामा पुर्याउन सकियो भने संसारभरीका मानिसलाई त्यसैको आधारमा विभाजन र जोड्ने कार्य गनए सकिने कुरा सर्वभौम हुन्छ । त्यसकारण व्यष्टि र समष्टिबीच अभिवाज्य सम्बन्ध हुन्छ ।

व्यष्टि र समष्टिबीच द्वन्द्वात्मक एकत्वको सम्बन्ध रहन्छ । व्यष्टि समष्टिको र समष्टि व्यष्टिको अन्तरसम्बन्धमा हुन्छ । यी परिवर्तनशील पनि हुन्छन् । समष्टि व्यष्टिमा विद्यमान हुन्छ ।
यसरी धारणाको अन्तिम चरण सार्विक/समष्टि, प्रवर्गको अन्तिम रूप पनि हो । कुनैपनि विषयको अध्ययन समष्टिमा पुगेपछि त्यो धारणा बन्छ ।

सत्ता र सार मिलेर धारणा बन्छ । यसमा सत्ताको अर्थ राजनैतिक सत्ता भनेको होइन । यहाँ सत्ताको अर्थ अस्थित्व हो । सत्य हो । सुरु हो । जे कुरा अस्थित्वमा छ त्यो सत्य छ । यो संसारको यो वस्तुगत जगतको प्राथमिक तत्व सत्ता हो । भौतिकवादीका लागि पदार्थ र अध्यात्मवादीका लागि चेतना सत्य हो, सत्ता हो ।

हामीले कुनै पनि चीजको अध्ययन गर्दा पहिला विषय आउछ । विषयको अध्ययन गरीसकेपछि त्यो विषयको विश्लेषण गर्ने काम हुन्छ । विश्लेषण मात्र गरेर हुँदैन त्यसको सश्लेषण पनि गर्नुपर्छ ।

सन्दर्भ सामग्री

कक्षा नाेट (प्रशिक्षक रमेश सुनुवार)

दर्शनशास्त्रकाे प्रारम्भिक ज्ञान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.