November 30, 2022, Wednesday
1:37:26 pm

Trending
  • राजनीति
  • इतिहासमा महान् फ्रान्सेली राज्यक्रान्ति
गन्तव्य नेपाल


0 प्रतिक्रिया

इतिहासमा महान् फ्रान्सेली राज्यक्रान्ति

१ वर्ष अगाडि

फ्रान्सेली पुँजीवादी क्रान्ति मानव इतिहासकै गौरवपूर्ण र महान् घटना थियो । यस क्रान्तिलाई बीसौं शताब्दीमा भएको अक्टुबर क्रान्तिसँग तुलना गर्न सकिन्छ । सन् १७८९ मा भएको आधुनिक युरोपको इतिहासमा सबैभन्दा असाधारण क्रान्तिका रुपमा स्थापित फ्रान्सेली राज्यक्रान्ति सामन्तवादी व्यवस्था विरुद्ध विशाल, निर्मम, रक्तपातपूर्ण र सम्झौताहिन क्रान्ति थियो । फ्रान्सका मध्यम वर्गीय नागरिकको नेतृत्वमा तत्कालिन निरंकुश राजतन्त्रका विरुद्ध गरेको कठोर क्रान्ति भएकाले यस क्रान्तिलाई पुँजीवादी क्रान्ति पनि भनिन्छ । यो कुनै एक पटकको महान् संघर्षबाट आएको क्रान्ति थिएन । क्रान्ति पश्चात पनि पटक पटक राजतन्त्रको स्थापना भएको थियो । तर फ्रान्सेली क्रान्तिको महान् पक्ष के हो भने यस क्रान्तिले आफ्नो लक्ष्य हासिल नगर्दासम्म संघर्षलाई निरन्तरता दिएको थियो । तसर्थ क्रान्तिकारीहरुका लागि अहिले पनि फ्रान्सेली क्रान्तिको इतिहास महान् शिक्षाको स्रोत हो ।

Advertisement

फ्रान्सेली राज्यक्रान्ति थुप्रै क्रान्ति–प्रतिक्रान्तिको श्रृंखलाबाट सम्पन्न भएको थियो । यसलाई पुँजीवादी विचारधाराबाट र पुँजीवादीहरुकै नेतृत्वबाट सम्पन्न सबैभन्दा महान् क्रान्तिको घटनाका रुपमा लिइन्छ । किन महान् थियो त फ्रान्सेली क्रान्ति ? यसबारे छोटो चर्चा गरौं ।

असी वर्ष लमाे अथक संघर्ष

फ्रान्सेली क्रान्ति शुरु भएको चार वर्ष पश्चात २१ जनवरी, १७९३ मा फ्रान्सका तत्कालिन तानाशाही राजा लुई सह्रौंलाई गिलेटिन मेसिनमा राखेर काटियो र गणतन्त्रको घोषणा गरियो । तर त्यो गणतन्त्र नेपालमा जहानीय निरंकुश शासन ढालेर २००७ सालमा प्रजातन्त्र आयो भनिएजस्तै भयो । तिनै क्रान्तिकारीहरुले १८०४ मा नेपोलियन बोनापार्टको शासन स्विकार गर्नुपर्यो ।

फ्रान्समा १८१४ सम्म नेपोलियनले शासन गरे । उनको पतनसँगै त्यहाँ राजतन्त्रको पुनःस्थापना भयो । लुई अठारौं राजना भए । उनको शासनबाट असन्तुष्ट रहेका फ्रान्सका जनताले संघर्ष जारी राखे, जसको परिणाम १८४८ को क्रान्तिले राजतन्त्रको पुनः अन्त्य गरेर पुँजीवादी गणतन्त्रको घोषणा गरियो । त्यसपछि नेपोलियन तृतीय शासनमा आए । उनले आफूलाई सम्राट घोषणा गरेपछि उनका विरुद्ध पनि फ्रान्सेलीहरुले संघर्ष गरे । १८७० मा अर्को क्रान्ति भयो, जुन क्रान्तिले फ्रान्समा गणतन्त्रको पुनःस्थापना गर्यो र फ्रान्सेली क्रान्तिले पूर्णता पायो । निरन्तर संघर्षको ८० वर्षे लामो जंगपछि फ्रान्सेली क्रान्तिकारी जनताले पुँजीवादी गणतन्त्र प्राप्त गरे । यो क्रान्तिले सिंगो युरोपको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उथलपुथल ल्याएको थियो ।

फ्रान्सेली राज्यक्रान्ति किसानहरुले भोकमरी, चर्च र कुलिन वर्गको अत्याचार विरुद्ध गरेको विद्रोहको परिणामस्वरुप जन्मिएको थियो । किसानहरुले आफूहरुले उत्पादन गरेको सामग्रीको दशौं भाग चर्चलाई बुझाउनु पथ्र्यो । त्यसमा पनि आफ्नो जमिन नभएका भूदास किसानहरुले कुलिन वर्गको जमिनमा खेती गर्नुपथ्र्यो । १७८८–१७८९ तिर चरम अनिकालको जाँतोमा पिसिएका किसानहरुले जमिन्दारहरुको अन्न लुट्न थाले । यो घटनाले फ्रान्समा क्रान्ति अनिवार्य बन्न गयो । बुद्धिजिवी, कोकिल र व्यापारीहरु मध्यमवर्गीय नागरिकमा पर्दथे । उनीहरु पनि निरंकुश राजतन्त्र र त्यसको आशिर्वाद पाएका कुलिन वर्गबाट अत्यन्तै पीडित थिए । यही वस्तुगत परिवेशमा मध्यम वर्गका क्रान्तिकारी फ्रान्सेलीहरुले मजदुरहरुको विद्रोहलाई नेतृत्व प्रदान गरे ।

फ्रान्सेली क्रान्तिको मुख्य कारणहरु

फ्रान्सेली क्रान्तिको मुख्य कारण अत्यन्तै विलाशी र निरंकुश सामन्तवादी राजतन्त्र नै थियो । फ्रान्सको राजतन्त्रको विलाशितालाई पुष्टि गर्ने भर्साइलको दवार निकै चर्चित छ । यो दवार निकै विशाल थियो, जसमा १८,००० मानिसहरु बस्थे । तीमध्ये १६,००० राजा र राजपरिवारको सेवामा खटिन्थे । रानीको सेवाका लागि मात्र पाँच सय नोकरचाकरहरु राखिएको थियो । राजाको तवेलामा १९०० घोडाहरु र २०० बग्गीहरु थिए । यसका लागि मात्रै वर्षमा ४० लाख डरल खर्च हुन्थ्यो । राजाको डाइनिङ टेबलको मूल्य १५ लाख डरल थियो । दवारमा यस्तो विलाशिता थियो तर फ्रान्सेली जनता भोकभोकै मरिरहेका थिए । नागरिकलाई धार्मिक, सामाजिक, आर्थिक र कुनै पनि राजनीतिक स्वतन्त्रता थिएन ।

सामाजिक रुपमा तत्कालिन फ्रान्समा विभिन्न वर्गहरु थिए । त्यसमा चर्चका एकथरी पादरीहरुको राज्य सञ्चालनमा मुख्य भूमिका रहन्थ्यो । चर्चको शक्तिका कति थियो भन्ने सन्दर्भमा इतिहासकार हेजेनको भनानइले पनि पुष्टि गर्दछ । हेजेनले चर्चलाई “राज्यभित्रको राज्य” भएको बताएका छन् । चर्चको आफ्नै कानुन, आफ्नै न्यायलय र प्रशासन थियो । आफ्नै अर्थतन्त्र थियो । किसानहरुबाट चर्को कर असुली गरिन्थ्यो । यसमा पनि तल्लो तहका पादरीहरु उपल्लो दर्जाका पादरीहरुबाट हेपाइमा परेका थिए । त्यहाँ अन्तरविरोध थियो । ती पुँजा पाठको काम गर्ने पादरीहरुको संख्या ठूलो थियो । उनीहरुले पनि राजतन्त्र र चर्चको अन्यायका विरुद्ध गरिएको फ्रान्सेली क्रान्तिको समर्थन गरेका थिए ।

फ्रान्समा अर्को कुलिन वर्ग थियो । कुलिन वर्गका व्यक्तिहरुलाई राज्य, चर्च र सेनाको उच्च पद दिइन्थ्यो । उनीहरु जमिन्दार पनि थिए । कुलिनहरुसँग फ्रान्सको एक चौथाइ जमिन थियो । उनीहरुले राज्यलाई कर तिर्नु नपर्ने मात्र होइन, जनताबाट निर्वाद रुपमा कर असुलीसमेत गर्न पाउने अधिकरा थियो । फ्रान्सका जनताहरु चर्च र कुलिनहरुको चरम शोषणमा व्यहोर्न बाध्य थिए ।

फ्रान्सेली क्रान्तिमा किसान मुख्य शक्ति थयाे तर यस क्रान्तिकाे मुख्य नेतृत्व भने बुर्जुवा वर्गले गरेकाे थियाे । फ्रान्सामा त्याे समय दुईथरी किसानहरु थिए- स्वतन्त्र र भूदास । भूदास किसानहरुसँग आफ्नो जमिन हुँदैन थियो । उनीहरुले कुलिनहरुको जमिनमा काम गर्थे । किसानहरु तेस्रो दर्जाका नागरिकमा गनिन्थे । भूदास किसानहरुको अवस्था निकै दयनीय थियो । उनीहरु कुलिनहरुले जमिन बेचे भने जमिनसँगै बेचिन्थे । स्वतन्त्र किसानहरुसँग आफ्नाे जमिन त हुन्थ्याे तर उनीहरुले चर्काे कर तिर्नुपर्दथ्याे । आफ्नो उब्जनिकाे करिब ८० प्रतिशतसम्म करका रुपमा चर्च र कुलिनहरुलाई बझाउनुपर्ने भएकाले उब्जनीको २० प्रतिशतबाट उनीहरुले आफ्नो गुजरा चलाउनुपथ्र्यो । यही भौतिक परिवेशका कारण किसानहरुका अगाडि क्रान्तिको अर्को विकल्प थिएन ।

त्यसैगरी फ्रान्समा उत्पादनको क्षेत्रमा मेसिनहरुको प्रयोगले घरेलु र साना उद्यमीहरु सडकमा पुगेका थिए । उनीहरु थोरै ज्यालामा ठूला कारखानाहरुमा काम गर्न बाध्य भए, जसको कारण उनीहरु पनि क्रान्तिकै पक्ष उभिए ।

फ्रान्सेली क्रान्तिको निर्णायक वर्ग मध्यम/बुर्जुवा वर्ग थियो । उनीहरु राज्य, पादरी र कुलिन वर्गबाट अपमानित थिए । मध्यम वर्गमा शिक्षित, बुद्धिजिवी, वकिल, पत्रकार, डाक्टर, लेखक, दार्शनि, कालिगड र व्यापारिहरु थिए । उनीहरु आर्थिक रुपमा पनि बलिया थिए, तर उनीहरुलाई पनि राज्यले राजनीतिक अधिकार दिएकाे थिएन । बुर्जुवा वर्ग सम्पान र राजनीतिक अधिकार चाहन्थे । राजतन्त्रसँग रुष्ट याे वर्ग सामाजिक र राजनीतिक रुपान्तरणकाे पक्षमा थिए । यही परिवेशमा किसानहरुले भाेकभरी र अनिकालका कारण जमिन्दारहरुसँग निमर्म संघर्ष शुरु गरिरहेका थिए । सरकार टाट पल्टदै गएपछि मध्यम वर्गबाट सरकरले ऋण थिएको थियो । त्यो ऋण तिर्न नसके पनि उनीहरु सरकारको विरुद्धमा उत्रिए । त्यो वर्ग राजतन्त्रको स्वैच्छाचारीको विरुद्धमा पनि थियो । यी सम्पूर्ण परिणामस्वरुप मध्यम वर्ग क्रान्तिको नेतृत्व गर्न मैदानमा उत्रियो । किसान, मजदुर र मध्यमवर्गको सयुंक्त संघर्षबाट फ्रान्समा राजतन्त्रको पतन भएर पुँजीवादी गणतन्त्रको यदय भयो । यही क्रान्तिले पहिलो पटक संसारलाई प्रजातन्त्रकाे पाठ सिकाउँदै समानता, स्वतन्त्रता र भातृत्वको नाराई सिंगो युरोपमा जबर्जस्त स्थापित गरेको थियो । आज पनि फ्रान्सेली क्रान्तिले अगाडि सारेको समानता, स्वतन्त्रता र भातृत्वको माग पुरा हुन सकेको छैन् । यही अधिकारका लागि आज पनि विभिन्न रुपमा संघर्ष र विद्रोहहरु भइ नै रहेको छ ।

फ्रान्सेली क्रान्तिले तत्कालिन राज्यव्यवस्थाकाे आमूल परिवर्तनकाे मार्ग प्रशस्त गरेकाे थियाे । यस क्रान्तिकाे प्रभावले युराेपभरी नयाँ राजनीतिक उथलपुथल आएकाे थियाे । त्यसैगरी समाजवादी क्रान्तिकाे लागिसमेत यसले आधार तयार गरिदिएकाे थियाे । पुँजीवादी व्यवस्थाले युराेपका मजदुरहरुकाे हालत निकै बिग्रदै गएकाे थियाे । फ्रान्सेली क्रान्तिले उत्पिडनमा परेका कारखानाका मजदुरहरुमा ठूलाे जागरण ल्यायाे । मजदुरहरुले आफ्नाे हक अधिकारका लागि विद्राेह गर्न थाले । 

नेपालको इतिहासमा पनि राणशासन विरुद्धको कठोर संघर्षमा हजारौं सपुतहरुले नागरिक तहबाट बलिदान गरे । तर २००७ सालमा तिनै राणाशासनका विरुद्ध अथक संघर्ष गर्ने नागरिकले एकतन्त्रीय निरंकुश राजतन्त्रात्मक व्यवस्था स्वीकार गर्नुपर्यो । त्यसपछि करब ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था नेपाली जनाले भोग्न बाध्य भयो । ठूलै संघर्षबाट २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय प्रजातन्त्र स्थापना भयो तर राजातन्त्रको शासनबाट नेपाली नागरिकले उन्मुक्ति पाउन सकेनन् । माओवादीको नेतृत्वमा भएको दश वर्षे जनयुद्ध र सबै राजनीतिक दलहरुको संयुक्त जनआन्दोलनको बलबाटमात्र राजतन्त्रको अन्त्य भयो र नेपालमा लोकतान्त्रीक गणतन्त्र स्थापना भयो । फ्रान्सको पुँजीवादी क्रान्ति सम्पन्न भएको करिब डेढ सय वर्षपछि नेपालमा समाजवादी शक्तिको मुख्य पहलमा र पुँजीवादी शक्तिहरुसँगको पनि सहकार्यमा पुँजीवादी गणतन्त्र आयो । जनताको सत्ता स्थापना गर्ने भन्दै कम्युनिष्ट शक्तिहरुले करिब ७० वर्षको लामो संघर्ष गरिसकेका छन् । तर कम्युनिष्टहरुले भनेको समाजवादी व्यवस्था आउन सकेको छैन । सामन्ती राजतन्त्रको स्थानमा पुँजीवादी गणतन्त्र आउनुलाई रुपमा त ठूलै उपलब्धी भने हो । तर सारमा हेर्दा फरक के छ भने राजतन्त्रमा एउटै शासन वेहोर्न नागरिकहरु बाध्य थिए, अहिले चुनावको समयमा आफ्नो मताधिकारमार्फत शासक छान्ने अधिकार नागरिकले पाएका छन् ।
नेपालको राजनीतिले अहिले पनि सुशासन र समृद्धि दिन सकेको छैन । राजनीति, सरकार र कर्मचारीतन्त्र चरम भ्रष्टचारले गाजिएको छ । नेपालको कम्युनिष्ट भनिने पार्टीमा समेत दलाल पुँजीवादको हालिमुहाली छ । तसर्थ समाजवादीहरुले पनि यदि लक्ष्यमा पुग्ने नै हो भने फ्रान्सेली क्रान्तिकारी जनताले जस्तै निरन्तर र आवश्यक परे निर्मम र रक्तपातपूर्ण संघर्षका लागिसमेत सधै तयार रहनुपर्छ । यो क्रान्तिको इतिहास आजका क्रान्तिकारीहरुको लागि पनि ऊर्जाको स्रोत हो । उन्नाइसौं शताब्दीमा सम्पन्न फ्रान्सेली क्रान्तिको इतिहासबाट क्रान्ति र प्रतिक्रान्ति बेहोर्दै इतिहासको पांग्रा अगाडि बढ्दछ, यस्तो अवस्थामा निरन्तर संघर्षबाहेक क्रान्तिलाई पूर्णता दिने अर्को बाटो हुँदैन भन्ने शिक्षा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.