१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् । कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् । पौडेलले भने गठबन्धन नगरी जाँदा नेकपा एमालेलाई फाइदा हुने भन्दै त्यो काम कांग्रेसले गर्न नहुने धारणा राखे । ‘ओलीलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्नहुन्न । बरु प्रचण्ड–माधवलाई अलिअलि मत थप्ने काम कांग्रेसले सहयोग गर्नुपर्छ’ बैठकमा पौडेलको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने । बैठकमा पौडेलले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई साथमा राखेर भए पनि ओलीलाई साइजमा राख्नुपर्छ ।’