१५ चैत, विराटनगर । एक सातायता विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त विजुली दिन नसक्दा समस्या परेको पूर्वका उद्योगी–व्यवसायीले बताएका छन् । भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गरेको उनीहरुको भनाइ छ । उद्योगी–व्यवसायीहरुका अनुसार गत मंगलबार ४ घण्टा विजुली कटौती भएको थियो । तर त्यसपछि विजुली कटौती बढ्दै गएको छ । आइतबार राति १२ घण्टासम्म विजुली कटौती भोगेका व्यवसायीले सोमबार भने अपरान्ह ४ बजेदेखि मंगलबार विहान ६ बजेसम्म विजुली पाएनन् । अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगका मजदुर कामविहीन हुनुपर्ने अवस्था आएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।