१५ चैत, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले १४औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने बताएका छन् । चैत १४ गते आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा सहभागीहरूले संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेटिए देशभर आन्दोलन गर्ने र पार्टी सभापतिलाई घेराबन्दी गर्नेसमेत चेतावनी दिएका हुन् । कांग्रेसको भातृसंस्थालगायत आगामी तीनै तहको निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्यवस्थापन नभए विद्रोह हुन सक्ने छलफलमा सहभागी नेताहरूले बताएका छन् ।