१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा आगामी ४० वर्षसम्मको लोड धान्न सक्ने गरी विद्युतको पूर्वाधार बनाइदिन नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङलाई आग्रह गरेका छन् । आज चितवनको राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलमानलाई सो आग्रह गरेका हुन् ।
अहिलेको सब स्टेशनले दुई–तीन वर्ष धान्ने र त्यसपछि फेरि समस्या आउन सक्ने कुरा आफूले सुनेको बताउँदै प्रचण्डले विद्युत प्राधिकरणको सीईओ पदमा रहँदै कुलमानलाई थप पूर्वाधार बनाउने प्रक्रिया अघि बढाइदिन आग्रह गरेका हुन् । ‘यो १३२ केभी सबस्टेशनले केही वर्ष त धान्छ । तर दुई–तीन वर्षपछि फेरि समस्या आउनसक्छ । त्यसैले त्यस नजिकै फेरि अर्को सबस्टेशन बनाउनुपर्छ,’ प्रचण्डले भने । मकवानपुर, चितवन र नवलपुरलाई समेटेर विकासको नयाँ मोडेलबारे सोचिरहेको पनि प्रचण्डले सुनाए ।