चैत्र २१, काठमाण्डौ । प्यासिफीक एशिया ट्राभल एसोशियसन अन्र्तगतको ‘पाटा नेपाल च्याप्टर’ केहि व्यक्तिहरुको व्यक्तिगत स्वार्थमा कब्जा गर्ने प्रयास भएको भन्दै पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे कानुनी उपचारमा जाने भएका छन ।
‘पाटा नेपाल च्याप्टर’ को यहि चैत्र २८ गते हुन लागेको साधारण सभाबाट संशोधित विधान निलम्बन गरेर सहभागी तथा प्रतिष्पर्धामूलक निर्वाचन सम्पन्न गर्न पहल भइरहेका बेला चैत्र १६ गते निर्वाचन कार्यक्रम सार्वजनिक गरी निर्धारित व्यक्तिहरुलाई मात्र संलग्न हुने अवसर प्रदान गरेको पाण्डेको आरोप छ । उक्त निर्वाचन कार्यक्रम स्थगनका लागि चैत्र १६ गतेकै दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराइसकेको उनले बताए । साथै पाण्डेले चैत्र २० गते आइतबार संस्थाको निर्वाचन स्थगनको माग राख्दै अदालतमा मुद्दा दायर गर्ने जानकारी समेत दिए । पाण्डे सन २०१३ जनवरी देखि २०१७ डिसेम्वर सम्म ५ बर्ष ‘पाटा नेपाल च्याप्टर’ को अध्यक्ष रहेका थिए ।