लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ । वैशाखमा हुने स्थानीय चुनावका लागि वडा र पालिकास्तरबाट उम्मेदवार सिफारिस गर्न लोसपाले निर्देशन दिएको हो । लोसपाले केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा बिहीबार जिल्लाहरूमा विस्तारित बैठक गरेको थियो। उक्त बैठकबाट चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको नेता केशव झाले जानकारी दिए । वडाध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखलगायतको नाम सिफारिस गर्न पनि लोसपाले निर्देशन दिएको हो। नेता झाका अनुसार लोसपाले देशैभरबाट उम्मेदवारी दिने तयारी गरेको छ । स्थानीय तहमा गठबन्धन गर्ने पक्षमा लोसपा नरहेको उनले बताए। तर स्थानीय आवश्यकता र औचित्यका आधारमा जित्ने गरी गठबन्धन गर्न भने छुट दिइने उनको भनाइ थियो । उम्मेदवार सिफारिस गर्दा ०७४ मा राम्रा काम नगरेकालाई सिफारिस नगर्न पनि लोसपाले निर्देशन दिएको छ। भ्रष्टाचारमा नाम मुछिएकाहरूको नाम सिफारिस नगर्न पनि आग्रह गरिएको उनले बताए ।
०७४ मा मधेश प्रदेशमा तत्कालीन राजपाबाट २५ प्रमुख र ३१ उपप्रमुख जितेको थियो । राजपा र समाजवादीबीच एकीकरण भएर जसपा बने पनि जसपाबाट फुटेर लोसपा गठन भएको हो ।