२९ चैत, काठमाडौं । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरमा वर्तमान मेयर हरिबहादुर महतसहित तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको एमालेको उपमहानगरपालिका कमिटीको बैठकले मेयरका लागि महतसँगै संविधानसभाका सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समितिकी सदस्य गणेशकुमारी प्रधानको नाम सिफारिस गरेको हो । त्यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र नेपालको नाम सिफारिस गरेको एमालेको उपमहानगरपालिका कमिटी स्रोतले जानकारी दिएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले अन्य पालिका र उपमहानगरपालिकाबाट सिफारिस भएका प्रमुख र उपप्रमुखको नाम बुधबार बस्ने जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गर्ने जानकारी दिए ।