१२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचतमा तालमेल गर्न सत्ता गठबन्धन सफल भएको दाबी गरेका छन । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा महराले भने,‘गठबन्धन सफल भएको छ। बिहान गठबन्धनका पाँच पार्टीका नेताहरुले पनि सफल भयौं भन्नु भएको छ ।’
गठबन्धन बीचमै उपेक्षा भएको गुनासो आइरहेको छ नि भन्ने प्रश्नमा महराले पार्टीको हैसियत अनुसार तालमेल भएको भन्दै त्यसमा हेपिएको महसुस गर्न नहुने बताए । ‘कतै कतै कांग्रेसले हामीलाई पेलेको छ,कतै कसैले पेलेको छ,’ उनले भने, ‘गठबन्धन भनेकै फरक विचार राख्नेहरुबीचको तालमेल हो । आफ्नो क्षमता, हैसियत अनुसार गठबन्धन भएको छ । कसैले हेपिएको महसुस गर्नुहुँदैन । यी कुरा विस्तारै मिल्छ ।’ उनले एमालेसँग नमिल्ने गठबन्धनको नीति भए पनि कतै मिलेको भन्दै त्यसमा छलफल भइरहेको जानकारी दिए । माओवादीले स्थानीय चुनावका लागि घोषणा पत्र किन ल्याएको हो भन्ने सन्दर्भमा महराले आफूहरुले संघीयताको मर्मलाई ख्याल गरेर अपील मात्रै ल्याएको र आफ्नो विशेषतामा स्थानीय पालिकाले घोषणा पत्र बनाउने बताए ।