१३ वैशाख, काठमाडौं । नेपाली अर्थतन्त्रको आकार एक वर्षमा ५ खर्ब रुपैयाँले बढेको छ । केन्द्रिय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालको अर्थतन्त्रको आकार चालु मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब रुपैयाँ बराबरको पुगेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा चालु मूल्य अनुसार आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा भने ३४ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो ।
अघिल्लो वर्ष २ खर्बले मात्र अर्थतन्त्रको आकार बढेको थियो । त्यसो हुनुमा कोभिड महामारी मूख्य कारण थियो । चालु मूल्य अनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा भने ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । यस्तो आकार अघिल्लो वर्ष ४२ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो ।