१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको सम्पूर्ण परिमाण हो । ११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड लिटर पानी प्रणालीमा आएको केयूकेएलका प्रवक्ता प्रकाश राईले बताए । १७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्नेछ । क्रमैसँग विभिन्न वितरण केन्द्रबाट वितरण हुने पानीको मात्रा बढाउँदै लगिएको छ । मीनभवन, महाँकालचौर, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज लगायतका वितरण केन्द्रमार्फत अहिले मेलम्चीको पानी वितरण भइरहेको छ ।
प्रवक्ता राईका अनुसार आइतबारदेखि सबै क्षेत्रमा पनि मेलम्चीको पानीको वितरण सुरु हुनेछ । नयाँ वितरण लाइनमार्फत पानी बाँड्न सुरु गरेपछि पनि ठाउँ–ठाउँमा थप लिकेजको समस्या देखिएको छ । समस्या समाधान गर्दै एक वर्षसम्म लगाएर नयाँ लाइनबाट पानी वितरण भइरहेको राईले बताए ।