२२ जेठ, रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये ६ जनाको सनाखत भएको छ । ३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस आइतबार विहान रोहिणी पुलबाट नदीमा खस्दा मृत्यु हुने ६ जनाको पहिचान खुलेको छ भने ३ जनाको अझै सनाखत नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ कि ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा–२ योगीकुटीका ६५ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास रहेका छन् । यस्तै रुपन्देहीकै बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, भारत जनकपुरग्रामका ४० वर्षीय अरबिन्द शर्मा छन् । परिचय नखुलेका ३ पुरुष ३० देखि ४५ वर्षसम्मका देखिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए ।
घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।