उखुबालीमा किराको प्रकोपः किसान चिन्तित
भदौ ११, रौतहट । उखु बालीमा किराको प्रकोप देखिन थालेपछि रौतहटका किसान चिन्तित भएका छन् । नदी किनारमा रहेको उखु बालीमा किराको प्रकोप देखिन थालेको हो ।
असार २७ र २८ गते नदीमा आएको बाढीले उखु बालीमा असर गरेको किसानहरू बताउँछन् । अधिकांश किसानको उखुबालीमा बाढीले क्षति भएको खेतमा किराको प्रकोप देखिन थालेको उखु किसान सुनिल कुमार यादवले बताए ।
उखुको पता सुक्ने, पात रातो हुने, गुभो र लाँक्रा सुक्ने गरेको उनले बताए । किसानले लगाएको उखुबालीमा विभिन्न किसिमका समस्या आउँदा किसान निराश भएको उनको भनाई छ ।
बाग्मती र लालबकैया नदीको किनारका खेतमा लगाइएको उखु बालीमा समस्या बढी रहेको पाइएको छ । बाढी तथा डुबानका कारण उखुबालीमा किराको प्रकोप देखिन थालेको श्रीराम सुगर मिल गरुडाका उखु विकास अधिकृत गान्धी पटेलले बताए ।
उखुबालीमा किराको प्रकोप देखिन थालेपछि स्थलगत निरीक्षण गर्दै उखु किसानलाई सुझाव दिने गरेको उनले बताए ।
लाल बकैया नदी आसपासमा रहेको भसेढवा, कटहरिया, हर्षाहा, झौआ, टिकुलिया, मर्यादापुर, ईनरवा लगायत गाउँका खेतमा किराको प्रकोप देखिएको छ ।
बाग्मती नदी आसपासको गाउँमा समेत समस्या देखिएकाले न्यूनीकरणका लागी स्थलगत निरीक्षण गरेको र यस बारेमा किसानलाई सुझाव दिएको उखु विकास अधिकृत पटेलले जानकारी दिए ।
तपाईंको बिचार