Friday, January 22, 2021

सेक्युरिटी प्रेस खरिद प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन

प्रकाशित मिति: 2020/03/13
काठमाडौं, ३० फागुन । संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पूर्ण प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । 
 
समितिको आज बसेको बैठकले हालसम्मका सबै प्रक्रिया रद्द गरी ग्लोबल टेन्डरबाट प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । समितिले सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा भ्रष्टाचारको विषय आएकाले छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन पनि दिएको छ ।
 
सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा अनियमितता गर्न तत्कालिन संचार मन्त्री गोकुल बास्कोटा नै लागेको सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा तत्कालिन मन्त्री बास्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भएको थियो । 
 
लेखा समितिले स्क्युरिटी प्रेस खरिद प्रक्रियाको पुनर्मुल्याङ्कन गर्ने, खरिद प्रक्रियाको विषयमा सम्बन्धित मन्त्रालय र मुख्यसचिसँग छलफल गर्ने र छानबिनको कागजपत्रको अध्ययन गरी थप छलफल निर्णय पनि लेखा समितिले गरेको छ । 

तपाईंको बिचार