Sunday, December 6, 2020

सोती खोला जलविद्युत निर्माण सुपरिवेक्षणको जिम्मा हाइड्रो कन्सल्टलाई

प्रकाशित मिति: 2020/06/22
काठमाडौं , ८ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण हुन लागेको सोती खोला जलविद्युत आयोजनाको सुपरिवेक्षणको जिम्मेवारी हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडलाई दिइएको छ । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा निर्माण हुन लागेको उक्त आयोजना निर्माणको सम्पुर्ण निरीक्षण र सुपरिवेक्षणको काम हाइड्रो कन्सल्टले गर्ने छ । प्रबर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेल र हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी निर्देशक मनोहर श्रेष्ठले आज उक्त सम्झौतामा हस्तान्तर गरे । करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाबाट २५ मेगावाट विद्युत उत्पादन हुने अध्यक्ष पोखरेलले जानकारी दिए । छ महिनादेखि निर्माणको काम भैरहेको आयोजनाको आगामी २४ देखि २७ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको पोखरेलले जानकारी दिए । आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्ता सहभागी हुनेछन् । अघिल्लो मङ्सिरमै नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनी लुम्बिनी भिजनबीच विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भैसकेको छ । सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ । उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सव- स्टेशनमा जोडिने छ ।

तपाईंको बिचार