Tuesday, August 4, 2020

कोरोना संक्रमणको त्रासकैबीच पदमार्गको अध्ययन तथा प्रवद्र्धन

प्रकाशित मिति: 2020/07/12

काठमाडौं, २८ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणकै बीच रसुवा–नुवाकोट पर्यटन समाजले पदयात्रा प्रवद्र्धन तथा अध्ययन गरेको छ। 

समाजको एक टोलीले काठमाडौंदेखि रसुवाको पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डसम्मको पदयात्रा ७ रात ८ दिनमा पूरा गरी काठमाडौं फर्किएको हो । समाजका अध्यक्ष बलराम न्यौपानेले टोलीले काठमाडौंको बुढानीलकण्ठ, शिवपुरी, सिक्रे हुँदै नुवाकोटको मानेभञ्ज्याङ, बाघमारा, सागरकुण्ड, राउचुली, छ्याकुङचुली, एक्लेकुण्ड, गोसाइँकुण्ड, सिङ्गोम्पा हुँदै धुन्चे आई काठमाडौं फर्किएको जानकारी दिए । 

अध्ययन टोलीले पदमार्गको आन्तरिक र बाह्य पर्यटकका लागि उच्च सम्भावना देखाएकाले यो मार्ग लोकप्रिय ट्रेकिङ गन्तव्य बन्न सक्ने बताइएको छ । पदमार्गबारे सकारात्मक सन्देश दिन सके लकडाउन सकिएसँगै आन्तरिक पर्यटकहरू यस क्षेत्रतर्फ यात्रा गर्न सक्ने सम्भावना रहने न्यौपानेले जानकारी दिए । 

अध्ययन टोलीका अनुसार यो मार्ग लाङटाङ, फिकुरी, हेलम्बु, तामाङ हेरिटेज, रुबी भ्याली, गणेश हिमाललगायतका पदमार्गसँग पनि जोड्न सकिने छ । 

तपाईंको बिचार