Sunday, September 20, 2020

यो वर्ष २ लाख ६ हजार पर्यटक नेपाल आउने अनुमान

प्रकाशित मिति: 2020/08/12

काठमाडौं, २८ साउन । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७७–७८ मा २ लाख ६ हजार जना पर्यटक नेपाल भित्रने प्रक्षेपण गरेको छ । कोरोना महामारी रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गरिएका कारण चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा विदेशी पर्यटक आउने सम्भावना छैन ।

त्यसपछिको १० महिनामा २ लाख ६ हजार पर्यटक नेपाल आउने अनुमान गर्दै बोर्डले वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाएको छ । सन् २०१९ मा करिव १२ लाख विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य थियो । 

विदेशमा पर्यटनको बजारीकरण गरी पर्यटक भित्र्याउन सार्वजनिक–निजी–साझेदारीमा सञ्चालित बोर्डको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम सोमबार सञ्चालक समितिबाट पारित भएको छ ।

बोर्डले चालु आर्थिक वर्षमा ८२ करोड रुपैयाँको बजेट ल्याएको छ । जुन गत आव २०७६–७७ को बजेट १ अर्ब ७६ करोड रुपैयाँको करिब आधा हो । बोर्डको मुख्य आम्दानी त्रिभुवन विमानस्थलबाट जहाज चढेर विदेश जाने यात्रुको टिकटबाट आउने प्रतिटिकट १ हजार रुपैयाँ हो । 

तपाईंको बिचार