Monday, January 25, 2021

रसुवागढी नाकाबाट बुधबारदेखि सामान ल्याउन थालियो

प्रकाशित मिति: 2020/09/24

काठमाडौं, ८ असोज । विगत तीनसातादेखि बन्द रसुवागढी नाका बुधवारबाट सुचारु भएको छ । चिनियाँ पक्षले नियमित सामान पठाउन थालेपछि नाका सञ्चालनमा आएको हो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जिल्ला प्रशासन कार्यालय रसुवालाई चिनियाँ पक्षले बिहीवारदेखि दैनिक पाँचवटा कन्टेनरमा सामान पठाउने जानकारी दिएको बताए । उनका अनुसार बुधवार मात्र एउटा कन्टेनरमा स्वास्थ्य सामग्री आएको थियो ।

कोरोना महामारीका कारण माघ १५ गतेदेखि ठप्प रहेको नाका जेठ महिनामा सञ्चालनमा आएको थियो । तर, श्रमिकमा कोरोना संक्रमण देखिएपछि भदौको दोस्रो हप्ता यो नाका पुनः बन्द भएको थियो ।

जेठयता चीनबाट दैनिक चार कन्टेनर सामान आउने गरेको थियो । सामान आयातमा वृद्धि गर्न नेपाली पक्षले चिनियाँ पक्षलाई पटकपटक अनुरोध गर्दै आएको छ । गतवर्ष सोही नाका हुँदै २७ अर्ब रुपैयाँभन्दा बढीको समान नेपाल भित्रिएको थियो । 

तपाईंको बिचार