इम्बोष्ड नम्बर प्लेट वितरण प्रक्रिया सुरू

काठमाडौं । नेपाल सरकारले आजदेखि सवारी साधनमा नयाँ प्रविधिको इम्बोष्ड प्लेट वितरण प्रक्रिया सुरू गर्ने भएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि ३ पाङग्रे, ४ पाङग्रे साना र ४ पाङग्रे ठूला सवारी साधनमा इम्बोष्ड प्लेट वितरणका लागि अनलाईन सेवामार्फत आवेदन खुला गर्ने भएको हो ।
इम्बोष्ड नम्बर प्लेट वितरण भने पहिलो चरणमा प्रदेश नम्बर ३ बाट सुरू हुनेछ। इम्बोष्ड नम्बरका लागि आवेदन भने ललितपुरको एकान्तकुनास्थित साना तथा ठूला सवारी व्यवस्थापन कार्यालयमा बुझाउनुपर्नेछ । इम्बोष्ड प्लेट लिन ३ पाङग्रेका लागि २ हजार ९ सय रुपैयाँ, ४ पाङग्रे सानाका लागि ३ हजार २ सय रुपैयाँ र ४ पाङग्रे ठूला सवारीका लागि ३ सय ६ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
सरकारले गत कात्तिक १३ गते इम्बोष्ड प्लेटका लागि आवेदन खुला गर्ने निर्णय राजपत्रमार्फत् सार्वजनिक गरेको थियो। सोही सूचनाको आधारमा इम्बोष्ड प्लेटका लागि आवेदन खुला गरिएको हो। सरकारले अरु प्रदेशहरूमा पनि इम्बोष्ड नम्बर वितरणको काममा ढिलाई नगर्ने बताएको छ। क्यालेन्डर बनाएरै इम्बोष्ड नम्बर वितरणको कामलाई अरु प्रदेशहरूमा पनि एकैसाथ सुरू गर्न लागिएको पनि विभागले जनाएको छ।
तपाईंको बिचार