तीन अर्ब लगानीमा आरतीले स्थापना गर्यो डन्डी उद्योग, दैनिक सात सय टन डन्डी उत्पादन गर्ने

विराटनगर। भारतीय लगानीमा मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालित आरती स्ट्रिप्सले मंसिर महिनाभित्रै टिएमटी फलामे डन्डी उत्पादन गर्ने भएको छ।
उद्योगका उपाध्यक्ष सञ्जीव शर्माका अनुसार उद्योगबाट दैनिक ७ सय टन फलामे डन्डीको उत्पादन सुरु गर्न लागिएको हो।उद्योगले बजारको मागअनुसार ‘टाइगर’ र ‘प्राइम’ ब्रान्डमा ८ देखि ५० एमएम सम्मका टिएमटी छड उत्पादन गर्ने शर्माले बताए।सन् २००१ देखि जस्ता पाताको उत्पादन सुरु गरेको आरती स्ट्रिप्सले हाल दैनिक ३ सय टन जस्ता पाता र ६० टन फलामे पाइपको उत्पादन गरिरहेको छ।
टिएमटी छडको कारखाना विस्तार गरेर उत्पादन गर्ने योजना ७ वर्ष पूरानो रहेको र त्यही बेलादेखि प्रक्रिया सुरु गरिएको शर्माले बताए । यसका लागि ३ सय करोडको लगानी गरिएको छ ।हालसम्म प्रति दिन ५ मेगावाट विद्युत् खपत गर्दै आएको आरतीलाई डन्डीको उत्पादन सुरु भएपछि १० मेगावाट चाहिनेछ।
कुनै बेला वार्षिक ६ सय करोड रुपैयाँको जस्ता पाता निकासी गरेको आरतीको निकासी ३–४ वर्ष यता ३ सय करोडमा खुम्चिएको छ । भूकम्पपछि नेपालकै मागलाई पूरा गर्न नसकेकाले निर्यात घटाउनु परेको शर्माले बताए । नेपालमा हाल रङ्गीन जस्ता पाताको माग प्रशस्त रहेको उनको भनाइ छ ।उपाध्यक्ष शर्माले फलामे डन्डीको कारखाना २० घण्टा सञ्चालन गरिने र बाँकी ४ घण्टा मेन्टेनेन्स गरिने जनाए ।
डन्डी उत्पादनका लागि इटालीको डेनली कम्पनीबाट ल्याइएको मेसिन नेपालमा पहिलो भएको र यत्तिको अत्याधुनिक र स्वचालित मेसिन नेपालमा नभएको उनले उल्लेख गरे ।उनले छडको उत्पादनदेखि बाइन्डिङसम्म अटोमेटिक मेसिनबाट हुने र चुम्बकीय पद्धतिको क्रेनबाट लोडअनलोड गरिने स्पष्ट पारे ।
इटालीको मेसिन भएपनि छडको कच्चा पदार्थ बिलेट भने भारतमै उत्पादित हुनेछ । भारतको स्टिल अथोरिटी लिमिटेड, जिन्दल स्टिल वक्र्स लगायतका ठूला र ब्रान्डेड कम्पनीबाट बिलेटको आयात गरिने शर्माले बताए ।
तपाईंको बिचार