Thursday, September 23, 2021

अमेरिकी निर्वाचन कसले मार्लान बाजी ?

प्रकाशित मिति: 2020/11/04

काठमाडौं, १९ कात्तिक । अमेरिकी राष्ट्रपति चुनावको सुरुवाती मतपरिणाम आउन थालेको छ । यस पटकको निर्वाचनमा अत्यन्त धेरै मत खसेको पनि बताइएको छ ।

यस पटक गत सय वर्षमा सबैभन्दा बढी संख्यामा मतदान भएको बताइएको छ । यसपटक करिब १० करोड अमेरिकी नागरिकले यसअघि नै अनलाइन तथा विभिन्न माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आजै नआउने बताइएको छ । सुरुवाती मतपरिणामअनुसार कुनै राज्यमा डेमोक्रयाट उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन् भने कुनै राज्यमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावको नतिजालाई उथलपुथल पार्न सक्ने राज्य मानिएको फ्लोरिडामा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यस्तै सुरुवाती मतगणनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्टकी, वेस्ट भर्जिनिया, ओक्लाहामालगायतका केही राज्यमा जित हात पार्ने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् । त्यस्तै प्रतिस्पर्धी बाइडेनले मेरिल्यान्ड, न्युयोर्क, न्युजर्सी, म्यासाच्युसेट्सलगायतका केही राज्यमा जित हात पार्न सक्ने संकेत देखिएको अमेरिकी सञ्‍चारमाध्यमले जनाएको छ ।

सुरुवाती मतगणनाअनुसार ट्रम्पभन्दा बाइडेन केही इलेक्टोरल कलेजमा अगाडि देखिएका छन् । समाचार संस्था एपीका अनुसार बाइडेन १३१ इलेक्टोरल कलेजमा अगाडि रहँदा ट्रम्प १०८ इलेक्टोरल कलेजमा अगाडि देखिन्छन् । त्यस्तै बीबीसीले भने बाइडेनले ११८ इलेक्टोरल कलेज मत प्राप्त गर्दा ट्रम्पले ९९ मत प्राप्त गरेको उल्लेख गरेको छ ।

तपाईंको बिचार