Saturday, July 31, 2021

नेपाली चलचित्र ‘लप्पन छप्पन २’ लाई चीनमा रिलिज गरिने

प्रकाशित मिति: 2021/03/12

फागुन २८, काठमाण्डौ । अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्सअफिस बजार मानिने चीनमा केही वर्षयता बलिउड फिल्मले राम्रो उपस्थिति जनाएको छ । ‘बजरंगी भाइजान, दंगल, सिक्रेट सुपरस्टार, हिन्दी मिडियम, अन्धाधुन, हिच्की’ जस्ता फिल्मले चिनियाँ बक्सअफिसमा करोडौं छापे । ७० हजारभन्दा बढी स्क्रिन रहेको चीनमा कुनै पनि फिल्मले प्रदर्शनको पहिलो दिन सय करोडभन्दा बढी छाप्न सक्छ ।

हलिउडपछि भारतीय फिल्मले चिनियाँ बजारमा आफ्नो बलियो पकड बनाउँदै गर्दा नेपाली फिल्मका लागि चीनका हलमा फिल्म रिलिज गर्नु ‘आकाशको फल आँखा तरी मर’ झैँ भएको छ । गत वर्ष निर्देशक दिपेन्द्र के. खनालले फिल्म ‘आमा’ लाई चीनमा रिलिजका लागि पहल गर्ने बताएका थिए । तर, त्यहाँ कसरी फिल्म गर्ने भनेर मेलोमेसो नपाउँदा उनी अगाडि बढ्न सकेनन् ।
 
यस्तैमा, आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ लाई चीनका सिनेमा हलमा रिलिजको प्रयास गरिने भएको छ । यसका लागि निर्माण टिमले चिनियाँ भाषामा फिल्मलाई डब गर्दैछ । फिल्मको चीन रिलिज अधिकार शान्त शर्माले लिएका छन् । चीनका थिएटरमा फिल्म रिलिजको प्रयास भइरहेको निर्देशक मुकुद भट्टले जानकारी दिए ।
‘अहिले डब गर्न भाषालाई ट्रान्सलेट गर्ने काम भइरहेको छ । त्यसपछि डबिङ गरेर चीनमा रिलिजका लागि प्रयास गरिनेछ । चिनियाँ भाषाहरु बोलिने अन्य देशमा पनि फिल्म रिलिज गर्ने कुराहरु भइरहेको छ,’ निर्देशक भट्टले भने । सिनेमा हलमा सम्भव नभए ओटीटीमा रिलिज गरिने उनले बताए । फिल्मको मुम्बईमा हिन्दी, तमिल, तेलुगू र भोजपुरी भाषामा पनि डब भइरहेको छ ।

तपाईंको बिचार