Thursday, September 23, 2021

पहिरोपीडित १७५ परिवारलाई बोधिसत्वको सहयोग

प्रकाशित मिति: 2020/08/29

काठमाडौं, १३ भदौ । सिन्धुपाल्चोककोे लिदी पहिरोमा परी घरबार गुमाएका परिवारलाई बोधिसत्व विहारले खाद्य सहयोग गरेको छ । लिदी पहिरोले घरबारविहीन भएका १७५ परिवारलाई बोधिसत्वले दाल, चामल, नुन, तेल, आलु लगायत खाद्यसामग्री सहयोग गरेको हो । 

बोधिसत्वका सुप्रिम मास्टर हेगुवाङ शीसँगै खाद्यसामग्री लिएर लिदी पुगेका विहारअन्तर्गत पाँच महिनादेखि सञ्चालनमा रहेको ुनेपाल लकडाउन फुड च्यारिटीुका संयोजक शान्त शर्माले विहारले पहिरोपीडितलाई राहत नभई सहयोग दिएको भन्दै यस्तै सहयोग आगामी दिनमा पनि जारी राख्ने बताए । पालमुनि बसिरहेका पहिरोपीडित परिवारका लागि आवास निर्माणमा पनि सहयोग गर्न आफूहरु तयार रहेको उनले बताए । 

सो अवसरमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला समन्वय समितिका संयोजक गोपाल तामाङ, जुगल गाउँपालिका(२ का वडाध्यक्ष प्रताप लामा लगायतले बोधिसत्व विहारले गर्दै आएको मानवसेवाको मुक्तकण्ठले प्रशंसा गर्दै पछिल्लो सहयोगका लागि लिदीवासीका तर्फबाट मास्टर शी, संयोजक शर्मा र विहार परिवारप्रति आभार प्रकट गरे । यसअघि बाह्रबिसेको पहिरो र भोटेकोसीको बाढीपहिरोमा पनि विहारले सहयोग गरेको स्मरण गर्दै प्रजिअ ढकालले सिन्धुपाल्चोकमा विहारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । 

बोधिसत्व विहार मानवसेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । कोरोना महामारीसँगै नेपालमा लकडाउन सुरु भएलगत्तै नेपाल लकडाउन फुड च्यारिटी सञ्चालन गरेको बोधिसत्व विहारले अहिलेसम्म ४ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाइसकेको छ । यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ । 

खाद्य सामग्रीका अतिरिक्त विहारले देशभर भारी मात्रामा स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री वितरण गरेको छ । विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य केन्द्र, क्वारेन्टिन स्थल, सुरक्षा चौकी, कारागार तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा बोधिसत्वले स्वास्थ्य सामग्री पुर्याएको छ भने पत्रकारहरूलाई पिपिई, प्रेस ज्याकेटसहित सुरक्षा सामग्री वितरण गरेको छ । 

पछिल्लो समय अपाङ्गता भएका विभिन्न संस्थामा रहेका १५० जनालाई खाद्य सामग्री सहयोग गरेको विहार अझै त्यस्ता १ हजार जनालाई सहयोग गर्ने तयारीमा छ । यसका अतिरिक्त देशभर बाढी पहिरोको मारमा परेका समुदायको सहयोगमा विहारको ध्यान केन्द्रित भएको संयोजक शर्माले बताएका छन् ।

तपाईंको बिचार