Friday, January 15, 2021

व्यावसायीहरुको सल्लाह बमोजिम नै जेठ १६ र १७ मा डीटीएम सारेका हौँ : अधिकारी

प्रकाशित मिति: 2020/02/26

फागुन १४, काठमाण्डौ । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको दोस्रो आन्तरीक पर्यटन मेला(डोमेस्टीक टूरिजम मार्ट)(डीटीएम) आगामी बर्षको जेठ १६ र १७ गते तदनुसार(मे २९ र ३०) तारिकका दिन गर्ने भएको छ । पछिल्लो समय छिमेकी मुलुक चिनमा देखिएको कोरोना भाईरसका कारण पर्यटन क्षेत्र तरंगीत भएको स्थीतिलाई मध्यनजर गर्दै यसअघि निर्धारित मिति फागुन ९ र १० तदनुसार फेब्रुअरी २१ र २२ तारिकको मिति स्थगीत गरिएको थियो । 

गन्तव्य नेपाल गु्रपका अध्यक्ष तथा डीटीएम अध्यक्ष  शिव अधिकारी अबिरलले छिमेकी मुलुक चिनमा उत्पन्न कोरना भाइरसका कारण बजार तरंगीत भएको अवस्थामा व्यावसायीको सुझाबलाई शिरोपर गर्दै आगामी जेठमा मेला आयोजना गर्ने गरी अगाडि बढेको बताए । यसबिचमा डीटीएमको तयारी अन्तीम चरणमा पुगीसकेको स्थीतिमा हालसम्म ७३ वटा स्टल बुकिङ भैसकेको भएपनि पर्यटन क्षेत्रमा देखिएको फरक परीस्थीति र व्यावसायीहरुको सुझाबलाई शिरोपर गर्दै आगामी जेठमा सार्न पुगेको उनले बताए ।
पहिला देश अनि बिदेश भन्ने मुल नाराका साथ मेलालाई भव्य र सब्य बनाउन तयारीलाई तिब्रता दिईएको छ । भृकुटीमण्डप प्रदर्शनी हल सहितको चौरमा मेला आयोजना हुनेछ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्न र आन्तरीक पर्यटनलाई बढवा दिने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिने छ ।  जसको एकमात्र उदेश्य नेपाल भ्रमण बर्ष सफल पार्न र एकैथलोबाट देश चिनाउने र लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको उजागर गर्नुका साथै पर्यटन व्यावसायीहरुमा सकारात्मक उर्जा प्रदान गर्नु यसको उदेश्य रहेको बताईरहँदा मेलाको आवश्यक्ता, औचित्य र मेला सार्नुका कारणबारे डीटीएम अध्यक्ष शिव अधिकारी अबिरललाई सोधेका थियौँ ।
१. फागुनमा हुने भनिएको मेला जेठमा पुग्यो किन ?
सुरुमा फागुनमा नै मेला आयोजना गर्ने भनेर तयारी पनि अन्तिम चरणमा पुगिसकेको थियो । यहीबेला छिमेकी मुलुक चिनमा उत्पन्न कोरना भाइरसका कारण बजार तरंगीत भएको अवस्थामा व्यावसायीको सुझाबलाई शिरोपर गर्दै तत्काल मेला स्थगीत गर्नुपर्ने अवस्थामा जेठमा गर्ने निर्णय गरेका हौँ, यसमा अन्यथा केही पनि छैन । पर्यटन क्षेत्रमा देखिएको फरक परीस्थीति र व्यावसायीहरुको सुझाबलाई शिरोपर गरेरै अघि बढेका हौँ ।

डोमेस्टीक टुरिजम मार्टको आवश्यक्ता किन ?

सरकारले सन् २०२० मा नेपाल भ्रमण बर्ष घोषणा गरी २० लाख पर्यटक भित्राउने योजना अघि सारेको छ । यद्यपी ति प्रयासहरुको गतिशिलता अहिलेसम्म पनि प्रभावकारी देखिएको छैन । नेपालमा पर्यटकीय क्षेत्र शहरबजारका गल्ली मात्र नभएर दुरदराजका क्षेत्रहरुबारे पनि प्रचारप्रसार गरिनुपर्छ । देशभित्र कहाँ केके छन पहिला हामी नेपालीहरुलाई थाहा हुन सक्यो भने मात्र बिदेशबाट आउने पर्यटकलाई त्यसबारे जानकारी दिन सक्छौ । यसर्थ आन्तरीक होस वा बाह्य जुनसुकै पर्यटकलाई पनि कहाँको बिशेषता के हो, कहाँ के पाईन्छ, यी सबैको जानकारी दिने एउटै थलो डोमेस्टीक टुरिजम मार्ट हो । यसमा दुरदराजका पर्यटकीय क्षेत्र र त्यहाँका स्थानियहरुको पनि अपनत्व महशुस गराउने गरी मेला आयोजना गरेका हौ ।

मेलामा के के रहनेछन ?

मेलामा देशैभरिका पर्यटन सम्बद्ध व्यापारिक स्टलका साथै नेपाल भित्रका बिभिन्न संस्कृतिहरु रहनेछन् । हस्तकला, होटल, ट्राभल एजेन्सी, होमस्टे, भेइकल, एयरलायन्स लगायत बिभिन्न पर्यटकीय संघसंस्थाका बस्तु तथा सेवाका स्टल रहनेछ । 

अहिलेसम्म स्टल बुकिङको अवस्था कस्तो छ ? 
१५० मध्ये अहिलेसम्म ७३ स्टल बुकिङ भैसकेको छ । देशैभरिका पर्यटकीय संघसंस्था, व्यावसायी र व्यापारिक समुहसँग हामी निरन्तर सम्पर्क र संबादमा छौ । पर्यटन क्षेत्रका हस्तीहरु र समृद्ध पर्यटन हेर्न चाहने ठुलो समुहको साथ सहयोग हामीलाई प्राप्त छ । पर्यटन बजारमा हाम्रा यसअघिका गतिशिलताले हाम्रो लक्ष्य पुरा हुनेमा हामी ढुक्क छौ ।
 

यसको अलवा मार्टका आर्कषणहरु के के रहनेछन ?
भित्री भागमा व्यापारिक स्टल, बिभिन्न पर्यटकीय क्षेत्रहरुका बारेका जानकारी दिने उदेश्यले राखिएका स्टल र नयाँ तथा पुराना बस्तु तथा सेवाको प्रदर्शनी रहनेछ । बाहिरी भागमा भने सांस्कृतिक कार्यक्रम, भेषभुषा, कलासंस्कृति, लोकदोहोरी गित, राष्ट्रिय कलाकारबाट प्रश्तुती रहनेछ । यसका साथै बिभिन्न खानाका परिकार सहितको फुटकोर्ट सहितको स्टल समेत रहनेछ । यसर्थ मेला पर्यटन, संस्कृति सम्बद्ध जानकारी र मनोरञ्जनको संगमको रुपमा रहनेछ । मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरु, हस्तकलाका सामाग्री, र्या्फ्टिङ, बन्जिजम्प, जिपफ्लायर, केबलकार, टूरीजम शैक्षिक कलेज, पर्यटक यातायात, देश बिदेशको भ्रमण, आकाशबाट धर्ती हेर्ने प्याराग्लाईडिङ, काठमाण्डौ मोफसलका होटल तथा रेष्टुरेन्ट, ७ वटै प्रदेशको बिभिन्न स्वादका परिकार, होमस्टे, सञ्चार लगायतको एकै ठाँउबाट अवलोकन गर्न सकिने र प्याकेजको व्यवस्था रहेको छ ।
 
मेलाका उदेश्यहरु के के हुन ?
पहिले देश अनि बिदेश भन्ने नारालाई सार्थक बनाउन देशका सुकिला मुकिला क्षेत्र र व्यक्तिका तहमा मात्रै नभई लुकेर रहेका र दुर्गम भनेर ओझेलमा पारिएका पर्यटकीय सम्पदाहरुको उथ्थान र प्रवद्र्धन मेलाका उदेश्य हुन । काठमाण्डौ बाहिर पर्यटकको रुची नहुने तथा सदरमुकाम केन्द्रित गन्तव्यबाट अझै परका क्षेत्रका बासिन्दालाई पनि आन्तरीक पर्यटनको संभावनाबारे आशा जगाउन सकियोस भन्ने हेतुले मेला हुदैछ ।

तयारी कस्तो छ ?
युवा पर्यटन व्यवसायी माधब प्रसाद सुबेदीको संयोजकत्वमा मेला आयोजक समिती बनाईएको छ । म स्वयमं पनि यसको नेतृत्व गरेर बिभिन्न परामर्श समिति, मिडिया प्रचारप्रसारका लागि बनाईएका समिती र सल्लाहकार तथा बिज्ञ समितीहरुको रायसुझाब बटुल्दै सबैलाई मेलामा एकत्रित बनाउने महान अभियान लागि रहेको छु । पर्यटन सम्बद्ध तथा उद्योगसँग सरोकार राख्ने पक्षसँग सुझाब लिने र आपसी सहयोगका सन्दर्भबारे निरन्तर परामर्शमा छौ । मेला भब्य र सभ्य हुने यथेष्ट आधार तयार भैसकेका छन् । हजारौँको संख्याले मेला अवलोकन गर्नेछन, पर्यटकीय गन्तव्यको जानकारी सबैमाझ पुग्नेछ । २० लाख पर्यटक भित्राउने सरकारी योजनामा कहाँ के छ भनेर जानकारीको स्रोतकर्ता बन्न सक्छौ । दुरदराजका पर्यटकीय क्षेत्र र बासिन्दाले पनि पर्यटनमा आफ्नो उपस्थीति महशुस गर्न सक्ने बनाउँछौ । सबैले यही ढंगमा बुझ्न जरुरी छ । हाम्रो अबिरल गतिशिलताको बलमा लक्ष्य प्राप्त हुने निश्चीत छ भन्ने हाम्रो बुझाई हो ।

तपाईंको बिचार