Tuesday, August 4, 2020

कोरोना नियन्त्रणमा सरकारको कार्यक्षमता देखिएन : रमेशकुमार महत

प्रकाशित मिति: 2020/03/19

चैत्र ६, काठमाण्डौ । कोरोना प्रकोपको असर विश्वभरी फैलिरहँदा यसबाट जोगिनका लागि भन्दै सरकारले हिजो मात्रै स्कुल तथा बिश्वबिद्यालय तहका परिक्षाहरु स्थगीत गरेको छ । अति आवश्यक बाहेक अन्य अवस्थामा जमघट पार्टी र भिडभाड नगर्न सरकारका तर्फबाट निर्देश जारी गरिसकेको अवस्था छ । यसका साथै जनचेतना जगाउनका लागि प्रचारशैलीलाई आक्रमक रुपमा अघि बढाएको सरकारले ५५ मुलुकसँगको हवाई नाका बन्द गरिरहँदा सिमा नाकामा पनि कडाई गर्ने बताएको छ । सरकारको कोरोना लक्षित कार्यक्रम फितलो भयो भनेर आलोचना भईरहँदा सरकारले हिजो मात्रै बिभिन्न नितीगत निर्णय गर्दै कोरोना भाईरससँग लड्न आफू सक्रिय रहेको बताईरहँदा सरकारको कार्यशैली कस्तो भनी हामीले नेपाली कांग्रेस नुवाकोट महासमिति सदस्य तथा युवा नेता रमेश कुमार महतलाई सोधेका छौँ ।

महत नेपाली कांग्रेस नुवाकोटका जुझारु युवा नेता हुन । बिभिन्न सामाजिक कार्यमार्फत जिल्ला राजनीतिमा उनको लोकप्रियता बढ्दो छ । उनै महतसँगको कुराकानी जस्ताको तस्तै ।
१. सरकारले कोरोना नियन्त्रण गर्नको लागि उत्पातै राम्रो काम गरिराछ, तपाईलाई कस्तो लाग्यो ?
त्यस्तो केही पनि देखिदैन । आफ्ना बिदेशमा रहेका नागरिक समेतलाई नेपाल आउन नदिने गरि हतासमा जुन निर्णय गरेको छ, यो अपरीपक्व निर्णय हो । यसलाई राम्रो मान्न सकिदैन ।
२.तर नेपालीका हकमा स्वास्थ्य प्रमाणपत्र पेश गरी जुनसुकै समयमा आउन सक्ने भनिएको छ, कोरोना संक्रमित बिदेशीलाई नेपाल नआउ भन्नु त राम्रो हो नी हैन, र ?
अहिले धेरै नेपाली बिदेशमा छन, हेल्थ सर्टिफिकेट बनाएर आउ भनिएको छ, तर त्यसको मापदण्ड, नागरिकका हकमा त्यो कति सहज भन्ने पनि होला । भोलीका दिनमा अहिले बैदेशिक रोजगार, शिक्षा वा अन्य जुनसुकै प्रयोजनका लागि बिदेशमा भएका नेपालीलाई ति देशले पनि राख्न मानेनन, भने कहाँ जाने ? प्रश्न यही हो । यसमा सरकारको कार्यक्षमता देखिएन भन्न खोजेको हुँ ।
३.प्रतिपक्ष भएपछि बिरोध मात्रै गर्नुपर्छ भन्ने हो, अहिले नेपालले जे गरिराखेको छ, यो त अन्तर्राष्ट्रिय अभ्यास होनी ?
पक्ष प्रतिपक्ष भन्ने कुरा होईन, अष्ट्रेलिया, अमेरिका लगायतका देशले पनि हवाई नाका बन्द गरेका छन, तर उनीहरुले आफ्ना नागरिकलाई स्वदेश फर्कनका लागि समयसिमा जारी गरेका थिए, हामीले हतारमा निर्णय गर्यौ, अहिलेको जुन ढंगको आकस्मिकता देखिएको छ, समस्या यही छ ।
४. तर सरकारले गर्दा पनि नहुने, नगर्दा त झन माईतीघरमा चिच्याउने नै भए, कसै गर्दा पनि नहुने किन ?
सरकारले राम्रो काम गरेको भए सबैले राम्रो भन्ने नै थिए, एसईई परिक्षा रोकियो, जसरी चैत्र ५ गते सम्म बिद्यालय परिक्षा सक्न सुचना जारी गर्यो, ठिक त्यसै गरी केही समय अगावै सुचना जारी गर्नुपथ्र्यो, सबै कुरा सकिसकेपछि हतारमा निर्णय गरेर बिद्यार्थीको भविश्य माथि खेलबाड किन ? कोरोनाको संक्रमणकै खतरा थियो त, यत्रो खर्च गरेर परिक्षा तालिका सार्वजनिक गरेपछि एसईई र बिश्वबिद्यालय तहका परिक्षा सबै रोकिएका छन, यसमा परिपक्वता देखिएन ।
५. यहाँकै पार्टी सभापति देउवाले पनि सरकारले उत्पात राम्रो निर्णय गर्यो भन्नुभाछ, तपाई सभापतिको विरुद्धमा बोल्ने ?
लोकतन्त्रमा विचारको स्वतन्त्रता हुन्छ, उहाँले कतिपय कुराहरुमा चित्त बुझ्यो राम्रो भन्नुभयो, नागरिकका तहमा कतिपय कमीकमजोरी हामीले देखीराखेका छौ, आलोचना त गर्न पाईन्छ, नी । हामीले खोजेको पनि राम्रो होस भन्ने नै हो ।
६. तपाईलाई अहिले भर्खरै फोन सम्पर्क गर्दा पनि नेपाल टेलिकमका तर्फबाट हात धुनुस, स्वस्थ रहनुस भन्दै जनचेतनाका स्वरहरु व्याकटोनका रुपमा सुनिरहेका छन, भनेपछि सरकारले त सबैतिर सुचना छरिरहेको छ, तपाई सरकारले केही गरेन भन्नुहुन्छ, तपाईले थाहा नपाएको हो की ?
प्रचारका सन्दर्भमा राम्रा काम पनि भएका छन, तर पर्याप्त भएन, भोली संक्रमण फैलिएको स्थीतिमा राख्ने क्वारेन्टाईनको निर्माण, मुलुकभित्रै स्वास्थ्य सेवा पाईन्छ भन्ने नागरिकमा अनुभुति त हुनुपर्यो नी ।
७. कोरोना संक्रमण रोक्नका लागि तपाईकै पार्टीका सभापति देउवालाई के सुझाब दिनुहुन्छ ?
यसमा मुख्य दायित्व सरकारको हो । कांग्रेस सभापति विपक्षी दलको नेता हुनुको नाताले कांग्रेसले दिने सुझाब सरकारले ग्रहण गरोस भन्ने मात्र हो । तर निर्णय सरकारकै हुन्छ । यसर्थ देउवा मात्र हैन, अन्य सबै पार्टीका नेताहरुलाई बोलाएर उनीहरुको पनि रायसुझाबलाई केलाएर सरकारले कार्यक्षमता प्रदर्शन गरोस ।

तपाईंको बिचार