नेपाल पर्वतारोहण संघ (एनएमए)को इतिहासमा तीन कार्यकाल बिताएका वर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले आफुले जतिसक्दो चाँडो नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका छन् । त्यसो त आउँदो अगष्ट ५ मा एनएमए निर्वाचन गर्ने औपचारिक घोषणासमेत भइसकेको छ । एनएमए निर्वाचन मिति नजिकिएसँगै अध्यक्षका आकांक्षीहरु मैदानमा उत्रिएका छन् । त्यसमध्ये अध्यक्षका लागि वर्तमान प्रथम उपाध्यक्ष सन्तवीर लामाको नाम पर्यटन बजारमा चर्चामा छ । उनै लामासँग गन्तव्य नेपालले गरेको कुराकानीको सम्पादित अंशः
एनएमए नेतृत्वमा यहाँको उम्मेदवारी केका लागि ?
एनएमए पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशील संस्था हो । म आफै पनि पर्वतीय पर्यटनमा रुचि राख्दै त्यही हावापानीमा अगाडि बढ्दै यहाँसम्म आइपुगे । एनएमएमै पनि एक दशकभन्दा बढी समय बिताइसकेको छु । त्यसैले एनएमएको कार्यक्षेत्र के हो, नेपालका पर्वतीय श्रृंखलाहरुको बारेमा थोरबहुत बुझेकै छु भन्ने लाग्छ । हिजोका दिनमा संस्थामा रहँदा कतिपय कुराहरु हुन आवश्यक भएर पनि लागू गर्न सकिएन । व्यवसायी र मजदुर आरोहीहरुका समस्या पनि छन्, यसलाई व्यवस्थित गर्नका लागि नेतृत्वमा म पुगेँ भने भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको हुँ । यसमा अग्रजहरुको माया पनि छँदै छ ।
एनएमए विकासका लागि यहाँको एजेण्डा के के छन् ?
पर्वतीय पर्यटन क्षेत्र सुधारमा एनएमएले खेलेको भूमिका अत्यन्तै अतुलनीय छ । तर समयानुकूल आफ्नो योजना तथा कार्यक्रम परिस्कृत र परिमार्जित नभएको सत्य हो । पर्वतीय पर्यटन र विभिन्न संस्कृति प्रवद्र्धनका लागि व्यवस्थापन मेरो प्रमुख एजेण्डा हुन् । तराईदेखि हिमालसम्म र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म एनएमए र नेपालको पर्वतीय पर्यटनका साथै संस्कृतिको प्रवद्र्धन गर्न सके पर्यटन क्षेत्रको जग बलियो बन्छ । यसलाई पूरा गर्नका निम्ति गुटगत संस्कृतिको प्रभाव थोरबहुत रुपमा एनएमएमा पनि प्रवेश भइसकेको छ, यसको अन्त्य हुनुपर्छ । व्यवसायीका हकहितका मुद्दा नै मेरो प्राथमिकता हो । तीव्र विकास अवधारणा, व्यवसायी, आरोही, मजदुर शेर्पाको जीवन सुरक्षाको अनुभूति दिलाउँदै समुन्नत पर्वतीय पर्यटन आगामी पुस्तालाई हस्तान्तरण गर्ने गरी लागिपर्ने छु ।
नेतृत्व हात पार्नको लागि विभिन्न गुट उपगुटका कुरा पनि आउँछन्, यसमा एलायन्स पनि जोडिएर आउँछ, तपाईको बुझाइ र तयारी के छ ?
यस विषयमा म बोल्न चाहन्नँ । पर्यटन क्षेत्रमै रहेर काम गर्ने भएकाले अग्रज पर्यटन व्यवसायीहरुसँग सहकार्य गर्न जरुरी छ । म पनि सहकार्य गरेरै अगाडि बढ्छु । तर अहिलेसम्मको अवस्थामा कुनै गुटउपगुटमा विभक्त भएको छैन ।
नेतृत्वमा पुग्न वर्तमान अध्यक्ष हुनुको नाताले आङछिरिङ शेर्पाको आशीर्वाद पनि चाहिएला नि ?
उहाँको आशीर्वाद छ । एलाइन्सकै आधारमा पनि भोलिका दिनमा उहाँले सहयोग गर्न तयार छु भन्नुभएको छ ।
भनेपछि, आशीर्वाद लिन उहाँका पुगिसक्नुभयो ?
हो, गएँ । मेरो कर्तव्य हो । म एनएमएमा प्रथम उपाध्यक्ष पनि हुँ । यस अर्थमा मेरो भूमिकालाई उहाँले बुझ्नु भएको छ ।
एनएमएलाई उहाँले सपार्नुभयो कि बिर्गानुभयो ?
छर्लङ्ग छ, राम्रो गरेकै कारण तीन कार्यकाल खानुभयो । उहाँको नेतृत्व क्षमता र टिम स्पीड राम्रो छ, संघमा सक्षम नेतृत्व हो उहाँ ।
सन्तवीर लामाचाहिँ कस्तो व्यक्ति हो ?
काभ्रेको सामान्य कृषक परिवारमा मेरो जन्म भयो । सानैदेखि हिमालको चिसो हावा र सिरेटोका साथै राप र ताप भोग्दै यहाँसम्म आइपुगेको हुँ । सन् १९७३ मा पर्वतीय पर्यटनमा पाइला राखेयता आजसम्म पनि यो यात्रा जारी छ । यात्रा संघर्षका सबैखाले अनुभव संगाल्दै यहाँसम्म आइपुग्दा बीचमा महत्वकांक्षा नभएका पनि होइनन्, तर त्यसलाई व्यवस्थापन गर्दै निरन्तर रुपमा पर्यटनमै समर्पित छु । जीवनको ऊर्जाशील समय रित्तिसकेपछि छोडेर पलायन हुन आत्माले पनि नदीने रहेछ । यस क्षेत्रमा आएर पश्चाताप पनि छैन, थोरबहुत साथीभाइ कमाएकै छु जस्तो लाग्छ । हिजोका दिनमा मजदुर भरियादेखि आज स्थापित व्यवसायीसम्म आइपुग्दा विभिन्न संघसंस्थामा रहेर आफ्ना भोगाइलाई सामान्यीकरण गर्दै आउने पिँढीको लागि समुन्नत पर्यटन क्षेत्र हस्तान्तरण गर्न लागिपरेको छु ।
तपाईंको जित्ने आधार के छ ?
एनएमए हिमाल आरोहणसँग सम्बन्धित संस्था हो भनेर सबैले स्वीकार्ने अर्थमा म आफै हिजोका दिनमा हिमालको चिसो सिरेटो खाँदै र यसैमा गर्व गर्दै बाल्यकाल बिताएँ । समयक्रमले आरोहीहरुको भरिया भएर धेरै समय बिताएको छु, कष्टकर यात्रा, जीवनमरणको त्रास, भोक र पीडाबीच यसमा जोडिएका बालबच्चा परिवार र भविष्यको चिन्तालाई मजदुर साथीहरुले कसरी भोग्न बाध्य छन् ? यो कुरा किताबमा रटेर मैले थाहा पाइराख्नु पर्दैन । हिजोका दिनमा म आफै यसको साक्षी हुँ । जुन धरातलबाट म आएँ, मैले विगत बिर्सेको छैन भने यसबीचमा मप्रति सद्भाव राख्ने धेरै साथीहरु त्यहाँ हुनुहुन्छ, उहाँहरुको शुभेच्छा मलाई छ । एनएमएले सोचेजति गर्न सकेन होला । तर थोरबहुत प्रयास भएकै छन् । वर्तमानमा म आफै प्रथम उपाध्यक्ष हुँदा यसको कार्यशैलीबारे अवगत छुु ।
केही कुरा अपूरा अवश्य छन्, त्यसलाई म नेतृत्वमा पुगें भने गर्न सक्छु भन्ने दृढ आत्मविश्वाससहित आगामी पुस्तालाई गर्व गर्न लायक एनएमए हस्तान्तरण गर्न नै मेरो नेतृत्वमा दाबेदारी हो । हिजोदेखि आजसम्म सन्तवीरले पर्यटन क्षेत्रमा रहँदै गर्दा कसैको कुभलो चिताइएन । सधै व्यवसायी र मजदुर साथीहरुको पक्षमा आवाज उठाइरह्यो । यही नै मेरो जितको आधार हो ।
तपाईंको बिचार