एनएमए निर्वाचनमा हामी प्यानल होइन पात्र छान्छौ : संगम शेर्पा
प्रकाशित मिति: 2017/08/02
शेर्पा व्यवसायी संघ नेपाल, महासचिव
संगम शेर्पा शेर्पा व्यवसायी संघ नेपालका महासचिव हुनुहुन्छ ।नेपाल पर्वतारोहण संघ (एनएमए) को आसन्न निर्वाचन नजिकिएसँगै निर्वाचन माहोलले पर्यटन बजार तातेको छ । उसो त शेर्पा समुदायकै बाहुल्यता रहेको भनिएको एनएमएमा शेर्पा व्यवसायीहरु कस्तो नेतृत्व चाहन्छन् भन्ने विषयमा गन्तव्य नेपालले गरेको संक्षिप्त कुराकानी :
नेपाल पर्वतारोहण संघमा भएको निर्वाचन प्रक्रियालाई तपाईहरुले कुन रुपमा लिनु भएको छ ?
नेपाल पर्वतारोहण संघमा सहमतिय नेतृत्व चयनका लागि हामीले पनि पटक– पटक प्रयास गरेका हौ । त्यो सम्भव भएन । तर पनि हामीले एनएमएलाई बुझेको, नेपालको पर्वतीय पर्यटनको विकासमा राम्रो अनुभव भएको साथीहरुलाई एनएमएमा पठाउनुपर्छ भनेर आग्रह गरेका थियौ । अहिले दुइ पक्ष जुन रुपमा प्यानल सहित निर्वाचनमा होमिनु भएको छ । बढीभन्दा बढी आरोहीहरुलाई समेटेर टिम निर्माण गर्न हामीले दुबै समूहलाइ भनेका थियौ । तर कति समेट्नु भएको छ छैन भन्ने कुरा त प्यानल सार्वजनीक भएसँगै स्पष्ट देखिएको छ । अव हेर्दै जाउ ।
अहिलेको दुई प्यानल मध्ये तपाईहरुको संस्थाको समर्थन चाही कसलाई ?
सहमतिय नेतृत्व चयन हुन नसकेपछि हामीले अहिलेको निर्वाचन प्रक्रियालाई स्विकार गरेका छौ । सोही अनुसार अव कसलाई समर्थन गर्ने र कसलाई नगर्ने, कसको एजेन्डा के छ भनेर हामीले गम्भिर छलफल गर्यौ र गरिहेका पनि छौ । राजनीतिक लेनदेनका आधारमा टिम निर्माण गर्दा दक्ष, अदक्ष सबै पर्ने हुदाँ हामी प्यानल नै भन्दा पनि पात्र छान्ने योजनामा छौ । जसले सम्बन्धित क्षेत्रमा दक्षता हाँसिल गरेको छ, सानो तिनो प्रलोभनमा परेर संस्था र पर्यटन क्षेत्रको अहित हुने काम कहिल्यै नगर्ने त्यस्तो व्यक्तिलाई हामी मत दिएर विजयी गराउछौ ।
एनएमएमा आवद्ध तपाई व्यवसायीहरु नयाँ नेतृत्वबाट के चाहनु हुन्छ ?
हामीले एनएएममा विगत देखिका कामहरु हेरेका छौ । अहिलेका उम्मेदवाहरुको एजेन्डा पनि गम्भिर रुपमा अध्ययन गरिरहेका छौ । उम्मेदवारहरुले पिक जोगाउने कुरा पनि गर्नुभएको छ । भएका पिकलाई जोगाएर मात्र अब पुग्दैन । नयाँ नयाँ पिक खोज्ने विषयमा पनि स्पष्ट भिजन चाहियो । आज ५० हजार पर्यटक खुम्बुक्षेत्र छिर्दा पर्यटकले भिडभाड भएको महसुस गर्न थालिसकेका छन् । त्यस्तो महसुस हुन नदिन नयाँ नयाँ पिकहरु खोजेर त्यसको प्रचार–प्रसार गर्न जरुरी छ । अर्को पर्वतारोहण पर्यटनका लागि आवश्यक लाखौ दक्ष जनशक्ति उत्पानद गर्नुपर्ने आवश्यकता छ । भएका जनशक्ति ग्रिनकार्ड र अन्य लोभमा बिदेशीएका छन् । फलस्वरुप कम्पनीहरुले पर्वतारोहण सम्बन्धि सामान्य ज्ञान समेत नभएकाहरुलाई यस क्षेत्रमा संलग्न गराएका छन् जसको कारण हिमालमा दुर्घटनाको रेस्क्यू बढ्दो छ । यि विषयमा पनि उम्मेदवारहरुले विशेष ध्यान दिन जरुरी छ ।
अन्तमा एनएमए पछिल्लो समय उद्धेश्य बिहिन हुँदै गयो भन्ने गरिन्छ के त्यो सही हो ?
बास्तवमा एनएमएले स्थापना कालमा के के गर्ने लक्ष्य र उद्धेश्य राखेको थियो र अहिले के गर्दै छ सबैलाई थाहा नै छ । त्यहाँ गएर कसले कति के राम्रो काम गरे कति नराम्रो काम गरेपनि थाहा भएकै कुरा हो । एआइआई लगायतका अन्तर्राष्ट्रिय संस्थाको त कुरा छाडौं नेपालकै पर्यटन मन्त्रालय र टानसँग सहकार्य गरेर काम गर्न सके जस्तो देखिदैन । पूर्वाधारको हिसावले पनि एनएमए राम्रो अवस्थामा छ । तर समन्वयको अभावमा जे जस्तो काम हुनुपर्ने हो त्यो हुनसकेको छैन ।
तपाईंको बिचार