निलहरी बाँस्तोला (निलम) विगत दुई दशक भन्दा लामो समय देखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । विसं २०३५ सालमा सोलुखुम्बुको लेचा सल्यान गाउपालिका वडा नं ४ मा जन्मिनु भएको उहाँ अहिले पर्यटनमा क्षेत्रमा स्थापित भइसक्नु भएको छ ।
माध्यामिक तह सम्मको अध्ययन सोलुखुम्बु जिल्लामै पुरा गरेर अध्ययनका लागि विसं २०५२ सालमा काठमाडौं आउनु भएको उहाँ सोहीे समय देखि पर्यटन क्षेत्रमा होमिनु भएको थियो । पर्यटकसँगको सानै देखिको देखभेट अनि घुलमिलका कारण यस क्षेत्रतर्फ आकर्षित हुनुभएको उहाँले पछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय कम्पनीहरुमा आवद्ध भई गाइड, टुर लिडरको जिम्मेवारी बहन गर्नुभयो । त्यो क्रममा उहाँले ग्रेट हिमालय ट्रेलले परिचित पर्यटकीय पदमार्ग पनि चाहरी सक्नुभएको छ । त्यती मात्र होइन सो अवधीमा आइसल्याण्डपिक, याला र मिरापिकको पनि आरोहण गर्नुभएको छ ।
पर्यटनको यो अवधीको सम्मको यात्राले उहाँलाई मोहनीलाई लगाइ सकेको थियो । या भनौ पर्यटन क्षेत्रमै उहाँले आफ्नो उज्वल भविष्य देखिसक्नु भएको थियो । सोही सपनालाई साकार पार्न आफ्नो अनुभवका आधारमा विसं २०५८ मा एसियन हेरिटेज नाम कम्पनी स्थापना गरि आफ्नो व्यवसायीक जीवनको थालनी गर्नुभयो । दशबर्षे शस्त्र द्वन्द्वका बेला पर्यटन क्षेत्र पनि नराम्ररी थलियो तर पनि उहाँ विचलित नभई अनवरत आफ्नो व्यवसायमा लागिरहनु भयो । त्यसपछि भने उहाँले कहिल्यै जीवनमा पछाडि फर्केर हेर्न परेन । हाल उहाँले एसियन हेरिटेज ट्रेक्सका साथै आधा दर्जन भन्दा बढी व्यवसायहरु संचालन गर्दै आउनुभएको छ ।
त्यस्तै केही सहयात्रीहरुसँगको साझेदारीमा यात्री स्विट एन्ड स्पामा पनि उहाँले संचालन गर्नुभएको छ । अहिले बास्तोलाका यी कम्पनीहरुमा सयौले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
बाँस्तोलाले सामाजिक कार्य गर्नका लागि एसियन हेरिटेज फाउन्डेशन इन नेपाल नाम संस्था स्थापन गर्नुभएको छ । यस फाउन्डेशनले सोलुखुम्बु, ओखलढुङगा र खोटाङ जिल्लामा शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रमा विगत ८ वर्ष देखि काम गर्दै आएको छ । त्यस्तै फाउन्डेशनले सोलुखुम्बु, जिल्लामै नेचा सामुदायिक अस्पताल पनि स्थापना गरेको छ । बास्तोला यस अस्पतालका संस्थापक हुन । यसका साथै फाउन्डेशनले हरेक वर्ष हाल जेहनदार तर विपन्नविद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । हाल सम्म चार सय विद्यार्थी यही फाउन्डेशनको छात्रबृत्तिमा अध्ययनरत पनि छन् भने स्वारोजगार सृजनाका लागि माइक्रो क्रेडिट सेवा सुविधा फाउन्डेशनले प्रदान गर्दै आएको छ ।
पर्यटन क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव बटुलि सक्नु भएका बाँस्तोला ट्रेकिङ व्यवसायीहरुको छाता संगठन (टान)मा पनि विसं २०५८ साल देखि नै आवद्ध हुनुहुन्छ । यसअघि वर्ष २०६९ देखि ०७१ सम्म टानको कार्यसमितिमा उहाँले सदस्यको रुपमा निर्वाचित भएर दुई वर्ष प्रवक्ताको रुपमा काम गर्नुभएको छ । टानको आसन्न निर्वाचन नजिकिएसँगै उहाँ बास्तोलाको नाम पनि भावी अध्यक्षको रुपमा चर्चामा आइरहेको छ । आगामी निर्वाचन सम्बन्धि उहाँसँग गरिएको छोटो संवादः
टानको भावी अध्यक्षको उम्मेदवारको रुपमा तपाईको नाम पनि आइरहेको छ नी ?
हो । म टानको भावी इच्छुक अध्यक्षको उम्मेदवार हुँ । म दुई दशकभन्दा बढी समय देखि यस क्षेत्रमा क्रियाशिल छु भने टानका गतिविधिहरुलाई पनि सोही समय देखि नजिकबाट नियाली रहेको छु । तर अहिले समय फेरिएको छ । यस क्षेत्रमा पनि थुपै्र नयाँ व्यवसायीहरुको आगमन भएको छ । त्यसकारण मुुलुकको बदलिदो परिस्थिती र समय अनुसार टानमा पनि अव नेतृत्व चयन हुन आवश्य छ । जसका लागि टानको नेतृत्व तहमा युवा पुस्ता पुग्न जरुरी छ ।
विगतमा जस्तो वयवसायीक संस्थामा व्यवसायीक अनुभव नै नभएका व्यक्तिहरुले नेतृत्व गर्दा टानको हैसियतलाइ कमजोर बनाइएको छ । त्यसकारण अनुभवनी युवा व्यवसायीले अव टानलाई हाक्नुपर्छ भनेर मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु । पछिल्लो समय तपाई देख्नु भयो भने टानको व्यवस्थापन, कर्मचारी, मजदुर सबैको स्थिती भद्रगोल छ । त्यसले गर्दा टान वर्षै पिच्छे धमिराले खाएको काठ जस्तो बन्दै गएको छ । यही तरिकाले जाने हो भने भविष्यमा टान मात्रै होइन पर्वतीय पर्यटन नै धरासायी बन्ने निश्चित छ यसलाई बचाउन पनि युवा नेतृत्वको खाचो छ ।
टान पछिल्लो समय राजनीतिमा डुबेको छ । यो अवस्थामा तपाई कसरी नेतृत्व तहमा पुग्न सक्नु होला ?
मैले विसं २०५८ साल देखि व्यवसायीक रुपमा टानलाई नजिकबाट नियालिरहेको छु । टान विगतमा यस्तो थिएन । तर एकदशक यता टानमा राजनीतिकरण हुदै गयो । जुन हुनु हुदैन थियो । राजनीति गर्नका लागि सबैका लागि आ–आफ्नो जिल्ला सुरक्षित छ । व्यवसायीक संस्थामा रहेर राजनीति गर्नु राम्रो होइन । तर पनि हामीले त्यस्तै व्यक्तिहरुलाई टानको नेतृत्वको जिम्मेवारी सुम्पियो जसको परिणमा त यो अवस्था सृजना भएको हो ।
या भनौ यस्तो हुनुको प्रमुख कारण भनेकै पर्वतीय पर्यटनलाई बुझेको मान्छे त्यहाँ नपुग्नु पनि हो । पदका लागि भनेर ट्रेकिङ कम्पनी खोल्ने तर जीवनभर ट्रेकिङ नचलाउने प्रबृती पनि मैलाउदै गएको छ । त्यसर्थ टानको निकास र नयाँ व्यवसायीको प्रोत्साहनका लागि पनि युवा व्यवसायी अव टानको नेतृत्व लिन आवश्यक भइसकेको छ । व्यवसायीका माग र समय अनुसार यस व्यवसायलाई आधुनिकिरण गर्नका लागि युवाहरुको चाहना अनुसारनै म नेतृत्वका लागि अघि सरेको हु ।
तपाईको टिम चाही कस्तो हुन्छ ?
मेरो टिम पूर्ण व्यवसायीक हुन्छ । पवतीय पर्यटनबारे राम्रो ज्ञान भएको, मजदुरको समस्या बुझेको र केही गर्न सक्ने साहसी युवा व्यवसायीहरुको टिम निर्माण गरेर म अघि बढ्छु ।
यस्तो राजनीतिले गाजेको ठाउँमा विशुद्ध व्यवसायीक टिम निर्माण गरेर जान सम्भव छ ?
कठिन छ । तर असम्भव भने छैन । हामी गरेर देखाउछौ । व्यवसायीलाई के मार परेको छ । यस क्षेत्रका समस्या के–के हुन भनेर नियाल्न नसक्ने व्यक्ति टानमा जानुको कुनै औचित्य छैन । अव हामी त्यो फ्रेम भित्रको व्यक्ति मात्र टानमा जाने संस्कारको थालनी गर्न चाहन्छौ ।
अघि पनि भने मैले यसपटक देखि टानमा हावी भएको राजनीतिकरण चिर्ने अठोट गरेको छु । बजारमा मैले यो कुरा गर्दा कतिपय साथीहरुले मलाई तपाईको महत्वकांक्षा धेरै रहेछ पनि भन्नु भएको छ । यो मेरो महत्वकांक्षा होइन । टानको आवश्यकता हो । टानलाई नजिकबाट नियालेर, व्यवसायीक समस्या बुझेको भएर मैले यो साहस गरेको हुँ । टानमा दिने समयलाई आफ्नो व्यवसायमा लगाउने हो भने करोडौ रुपैयाँ कमाउन सकिन्छ । तर अव हामी व्यवसायीले आफ्नो व्यवसाय मात्रै सोचेर बसिरह्यौ भने टान यस्ता राजनीति गर्नेहरुको चंगुलमा फस्छ । र, आगामी पुस्ताले अनि हामीलाई धिर्काने छन् ।
तपाईलाई कस–कसको समर्थन रहन्छ होला केही अनुमान गर्नुभएको छ ?
म पार्टीगत रुपमा नेपाली कांग्रेसको आस्थाप्रति विश्वास गर्ने मान्छे हु । राजनीतिप्रति सबै व्यक्तिको आ–आफ्नै आस्था र विश्वास होला । टानमा नेतृत्व गर्न जाने हकमा म पूर्ण व्यवसायीक व्यक्ति हु । र टानमा गएपछि हामीले व्यवसायीक हकहित सुनिश्चित गर्ने र टान बचाउने तर्फ हामी सबैको ध्यान हुनेछ । या भनौ टानमा जादा मेरो पार्टी नै टान हुने छ । त्यसकारण यस क्षेत्रका अग्रज व्यवसायीहरु, नयाँ साथीहरु लगायतका सबै व्यवसायीहरुले मलाई साथ दिनुपर्छ र दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।
यस अलवा तपाईको अन्य एजेन्डाहरु केके हुन ?
पहलो कुरो त अहिले पर्यटन व्यवसायीलाई हरेक कोणबाट आक्रमण भइरहेको छ । पर्वतीय पर्यटनमा क्रियाशिल व्यवसायीहरुलाई राज्यको तर्फबाट पनि आक्रमण गरेको छ । यही प्रक्रिया जारी रहे व्यवसायी थप हतोत्साहि हुने छन् । त्यसबाट बचाउन आवश्यक छ । राज्यसँग राजस्व छुट कार्यान्वयन हुन सकेको छैन । अर्केा तर्फ पर्वतीय पर्यटक, व्यवसायी र मजदुरहरु पनि सुरक्षित छैनन् । त्यसकारण यी सबैका समस्याहरुलाई सम्बोधन गर्दै व्यवसाय बचाइ राख्नु मेरो एजेन्डा हो ।
त्यसपछि यस क्षेत्रमा आवद्ध व्यवसायीहरुलाई बदलिदो समय र परिस्थिती अनुसार अहिलेको नयाँ प्रविधिको जमानामा व्यापार बढाउने र गुणस्तरीय पर्यटक भित्र्याउने विषयमा विशेष प्रशिक्षण गराउन आवश्यक छ । त्यस्तै अहिले हामीले बजारिकरण गरिरहेको अन्नपूर्ण बेसक्याम्प, लाङटाङ र एभरेष्ट बाहेक अन्य गन्तव्य प्हिचान गरि प्रवद्र्धन गर्न जरुरी छ । सधै यही गन्तव्यलाई मात्र बेचिरहने अनि टानमा गएकाहरुले चाही राजनीति मात्र गरिरहने हो भने अवको केही वर्षमा ट्रेकिङ भन्ने शब्द नै हराउने खतरा छ । किन की भएका पदमार्गहरु अव्यवस्थित बन्दै गएका छ् । पहिरोका कारण बाटाहरु बन्द छन् भने सडकमार्ग विस्तारका कारण पदमार्गहरु छोटिएका छन् । यसमा राज्य भूमिका बिहिन छ । राज्यसँग सहकार्य गर्दै यस क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी छ ।
त्यस्तै मुस्ताङ, दामोदरकुण्ड, कञ्चनजंघा, मकालु लगायत बजारीकरण नभएका गन्तव्यहरुलाई व्यवस्थित गरि बजारीकरण गर्न आवश्यक छ । जसका लागि सरोरकावाला निकायहरुसँग सहकार्य गर्दै पर्वतीय पर्यटन बचाउन मेरो टिम लागनेछ ।
मजदुरको हकमा टानले केही गर्न सकेन भन्ने गुनासो बारम्बार आइरहेको यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
अहिले उनीहरुको समस्या सम्बोधन हुन नसक्नुको प्रमुख कारण भनेकै पर्वतीय पर्यटनको अनुभवन वेगरका व्यक्तिहरुले टानको नेतृत्व गर्दा उनीहरुको माग सम्बोधन हुन नसेकेको हो । मजदुरहरु भनेका यस क्षेत्रमा आइपर्ने समस्याको समाधन हुन । उनीहरु बिना पर्वतीय पर्यटन नै रहदैन ।त्यसकारण समय सापेक्ष उनीहरुको मागलाई सम्बोधन गर्न आवश्यक छ । यस विषयलाई पनि हामी गम्भिर रुपमा लिन्छौ ।
अन्तमा : टान र सरकार बीचको सम्बन्ध पनि त्यती राम्रो छैन त्यसलाई कसरी लिनुहुन्छ ।
टान भनेको सरकारले गर्न नसेको कामहरुलाई देखाएर उनीहरुसँग सहकार्य गर्दै व्यवसायीक हकहितका लागि काम गर्ने संस्था हो । त्यसकारण टान सरकारी निति नियम भन्दा बाहिर रहन कुनै हालतमा पनि सम्भव छैन । त्यसकारण पनि हामी पर्यटन मन्त्रालय, पर्यटन बोर्ड लगायतका सरोकारवाला निकायहरुसँग आवश्यक सहकार्य गरेर पर्वतीय पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाउने गरि हामी काम गछौ ।
तपाईंको बिचार