धनश्याम उपाध्याय, सहसचिव –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका
नेपाल सरकारले पदयात्रामा गएका पर्यटकहरुलाई विरामी बनाएर हेलिकोप्टर उद्धारको नाउँमा मोटो रकम असुल्ने कम्पनीहरुमाथि छानविन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव धनश्याम उपाध्यायको नेतृत्वमा छानविन समिति गठन गरी काम अघि बढाइएको हो । दर्जनौ हस्पिटल, टेकिङ र हेलिकोप्टर कम्पनीमाथि यस्तो फर्जी काम गर्ने गरेको उजुरी परेको छ । जसले गर्दा सिंगो पर्यटन क्षेत्रमा एक प्रकारको आतंक मच्चिएको छ । अहिले यसबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारबाजी भइरहेको छ । तसर्थः छानविन समितिले अहिलेसम्म के कसरी छानविन गरिरहेको छ भन्ने विषयमा छानविन समितिका संयोजक धनश्याम उपाध्यायसँग गरिएको ताजा कुराकानीः
छानविन समितिको समयसिमा सकिएपनि अहिलेसम्म त्यसको खास उपलब्धि देखिदैन । अहिलेसम्म छाविनको काम कहाँ पुग्यो ?
छानविनको काम अहिले चलिरहेको छ । हामीलाई गत १५ गतेसम्मको समयावधि दिइएको थियो । तर हामी आवश्यक सूचना संकलनकै क्रममा रहेको हुँदा थप केही समय लाग्नेभयो । र, केही दिनका लागि म्याथ थपिदै छ । कति समय थप गर्ने भन्नेमा निर्णय भइसकेको छैन । तीन वर्षको तथ्यांक हेर्ने भन्ने हाम्रो निर्णय भएको छ । त्यसका लागि समय लाग्ने देखिएको छ । हामीले आवश्यक सूचना सबैसँग माग गरिरहेका छौं । सोहीअनुसार आवश्यक प्रक्रिया समितिले अघि बढाइरहेको छ । यसबारे छिट्टै सत्य, तथ्य हामी बाहिर ल्याउछौं ।
तपाईहरुको प्रारम्भिक अध्ययनले के देखाउछ ?
दर्जनौं कम्पनीविरुद्ध उजुरीहरु परेका छन् । अनौपचारिक सुचनाहरु आएका छन् । सत्य, तथ्य पत्ता लगाउन त्यसले सहयोग त गर्छन्, तर वास्तविकता बुझ्न त्यसलाई मात्र आधार मानेर हुदैन । हामीले थप आवश्यक सूचना मगाएर अध्ययन गरिरहेका छौं । त्यसकारण अहिले यसो भयो र उसो भयो भन्ने अवस्थामा हामी पुगेका छैनौं ।
यस विषयले सिंगो पर्यटन क्षेत्रमा आतंक मच्चिएको छ र यस विषयसँग जोडेर पर्यटनको भविष्यबारे विभिन्न तर्क वितर्क हुन थालेको छ नि ?
गलत गर्नेले गलत गरिरहेको छ भन्दा कुनै नकारात्मक सन्देश जादैन । नकारात्मक सन्देश जानबाट रोक्नलाई चाही छानविनले मद्दत गर्छ । छानविन गरिरहेको अहिलेको अवस्थामा हामीले गलत सूचना प्रेशित गरिरहेका छैनांै । र, यही मिडियामार्फत के भन्न चाहन्छु भने गलत गर्नेले गलत गर्यो भन्दा केही नकारात्मक सन्देश जादैन । बरु विश्वभर सकारात्मक सन्देश चाँही जान्छ । र, यस्ता गलत धन्दा गर्ने खराब प्रवृत्तिका व्यवसायीहरु पनि कारबाहीको दायरामा आउँछन् । यस्ता सूचना त अरु देशका पनि आउँछन् । गलत काम गर्नेलाई गलत गरिरहन देउ होइन भने नकारात्मक सन्देश जान्छ भन्ने पनि हुन्छ ? गलत प्रवृतिलाई त रोक्नु प¥यो नि ? त्यसकारण सबै ढुक्क हुनुस् पर्यटनमा गलत गर्ने केही व्यवसायी कारबाहीको दायरामा आउदैमा नेपालको पर्यटनमा कुनै गलत पर्दैन । बरु विश्वभर सकारात्मक सन्देश प्रवाह हुन्छ ।
छानविनलाई प्रभावित पार्न राजनीतिक दबाव र प्रभाव कत्तिको आइरहेको छ ?
त्यस्तो कुनै राजनीतिक र प्रशासनिक प्रभाव छैन । हामी निर्धक्कसँग छाविन गरिहेका छौं । सूचनाहरु माग गरी अध्ययन गरिरहेका छौं । केही समय लाग्ने देखिएको छ । यो कार्यमा सरकार, राजनीतिक दल सबैको अग्रसरता छ । बरु सत्य, तथ्य छिटो बाहिर ल्याउनका लागि चाही दबाव आइरहेको छ ।
पर्यटन व्यवसायी र पर्यटकीय संघसंस्थाबाट यो कार्यमा कतिको सहयोग पाइरहनु भएको छ ?
उहाँहरुबाट पनि हामीले कुनै असहयोगको महसुश गरेका छैनौं । सबैबाट पूरापुर सहयोग छ ।
अन्तमा केही भन्नु छ ?
नेपालमा पर्यटनको ठूलो सम्भावना छ । सरकारले पनि पर्यटक बढाउन विभिन्न कार्यक्रमहरु अघि बढाईरहेको छ । त्यसका लागि सरकार, निजी क्षेत्र सहकार्य आवश्यक छ । जसको कारण पर्यटकको संख्या बढाउन सकिन्छ । सोहीअनुसार सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार मन्त्रालयले पनि काम गरिरहेको छ । पर्यटकीय पूर्वाधार निर्माण लगायतका अन्य कामहरु पनि अघि बढेको छ । तर, पर्यटनमा केही विकृतिहरु पनि छन् । त्यो कुरा अहिले परेको उजुरीले पनि संकेत गर्छ । के हो भनेर हामी छानविन गर्दैछौं । हाम्रो नियत कसैलाई त्रसित बनाउने होइन । पर्यटनमा भएका विकृति हटाउने हो । व्यवसायको नाममा गलत गर्नेलाई छाड्दैनौं । इमान्दारीपूर्वक काम गर्ने व्यवसायीलाई थप प्रोत्साहन गर्छौं ।
तपाईंको बिचार