नाफाघाटाको हिसाब गरेर जेटीसीसीबाट भाग्नुहुँदैन : दाहाल
प्रकाशित मिति: 2015/08/19
चन्द्र दाहाल, संयोजक –संयक्त पर्यटन समन्वय समिति (जेटीसीसी)
संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)लाई अहिले नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट्स (नारा)का अध्यक्ष चन्द्र दाहालले हाँकिरहनुभएको छ । कुनैबेला सबैलाई एक ढिक्का बनाउने सपना बोकेर स्थापित जेटीसीसीको विषयलाई लिएर पछिल्लो पटक वादविवाद देखिएको छ । कतिपयले यसको औचित्यमाथि नै प्रश्न उठाउँदै संगठनबाट बाहिरिएको घोषणा गरेका छन् । यस्तो गम्भीर परिस्थितिमा जेटीसीसी हाँक्ने जिम्मेवारी पाएका दाहालले अब जेटीसीसीलाई कसरी अगाडि बढाउलान् भन्ने कुरा अहिले सबैको चासो र चिन्ताको विषय बनेको छ । यसैको सेरोफेरोमा रहेर संयोजक दाहालसँग गन्तव्य नेपालले गरेको अन्तरंग संवादः
जेटीसीसीको औचित्य नै सकियो भनेर विवाद भइरहेको बेला नेतृत्व सम्हाल्न आइपुग्नुभयो, के छ तपाईको धारणा ?
पक्कै पनि सुरुवाती समयमा जुन रुपमा हामी एकजुट थियौँ अहिले हाम्रा केही साथीहरुबीच मनमुटावको स्थिति सृजना भएकै हो । त्यही कारण केही साथीहरुले यहाँ नबस्ने घोषणा समेत गर्नुभएको छ । तर कसैले विमति जनाएर जाँदैमा जेटीसीसी समाप्त हुँदैन । २०१४ मार्च २३ का दिन हामी केही व्यवसायीहरु बसेर पर्यटन क्षेत्रका सबै व्यवसायी एकजुट हुने कुनै संगठन गठन गर्ने योजना बनायौँ । जुन अनुरुप नै हामीले यसको गठन गरेका हौँ । गठन भएसँगै नेपाल पर्यटन बोर्डमा व्यापक अनियमितताको कुरा आयो, जुन जालो च्यात्न हामी केही व्यवसायीले मात्र सम्भव नहुने देख्यौँ र सबैलाई समेटेर जाने निर्णयअनुसार यसको आकार ठूलो भयो । त्यसका लागि अलि नेतृत्व अलि बलियो संगठनलाई दिनुपर्छ भन्ने सोचअनुसार टानलाई नेतृत्वको जिम्मेवारी लिने सहमति भयो । त्यसपछि नाट्टा र अहिले हाम्रो जिम्मामा आएको हो । पक्कै पनि केही साथी विमति राख्दै बाहिरिनु भएको हो तर कसैले छाडेर जाँदैमा जेटीसीसीको औचित्य सकियो भन्नु हल्ला मात्र हो ।
संयोजकको जिम्मेवारी पाएसँगै जेटीसीसीलाई कसरी अगाडि लैजाने सोचमा हुनुहुन्छ ?
मैले जिम्मेवारी पाएको केही हप्ता मात्र भएको छ । अहिले म कसरी अगाडि बढाउने विषयलाई नै लिएर गृहकार्यमा लागिरहेको छु । पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटकीय संघसंस्थासँग हामी सहकार्य गरिरहेका छौँ । असन्तुष्ट पक्षलाई पनि पुनः पुरानै घरमा फर्काउनु मेरो पहिलो प्राथमिकता हो । जसका लागि म छिटै छलफल अगाडि बढाउँछु । यसका साथै सम्बन्धित निकायमा दर्ता गराई पर्यटन क्षेत्रको छुटै ब्रान्डको रुपमा यसलाई चिनाउन महासंघको रुप दिनु मेरो पहिलो प्राथमिकताको विषय हुनेछ ।
थप सशक्त हुँदै जानुपर्ने संगठनबाट व्यवसायीले अहिले किन हात निकाल्दै गएको ?
मैले अघि नै भने यसको प्रमुख कारण हामी भित्रको विमति नै हो । त्यसैले त हामी पुनः छलफलमा जुटेका छौँ । पर्यटन क्षेत्रमा अब अरु जेटीसीसी जन्मँदैन, त्यसकारण फेरि पनि यसलाई बलियो बनाउनुपर्छ । जसका लागि हामी व्यवसायी पुनः एक हुनुको विकल्प छैन् । जसका लागि गल्ती सच्याउन सबै तत्पर हुनुपर्छ । अहिले उहाँहरु व्यावसायिक बाध्यताले यहाँबाट केही समयका लागि हिँड्नु भएको हो । अब फेरि आउनुहुन्छ र यो बलियो नै भएर उभिन्छ ।
जेटीसीसीको औचित्य नै सकियो भन्नेहरुलाई तपाई के भन्नुहुन्छ ?
भन्ने स्वतन्त्रता सबैलाई छ । सकिएको नसकिएको कुरा त सबैमाझ स्पष्ट छ । हामीले गरेका क्रियाकलाप, आगामी योजनाले पनि प्रष्ट पार्छ । निजी क्षेत्र रहुन्जेल जेटीसीसी रहन्छ । यो कुनै व्यवसायीको मात्र होइन सबैको साझा संगठन हो । यो व्यवसायीकै आवाज बुलन्द पार्ने फोरम हो ।
अहिले व्यक्तिगत रुपमा नाफाघाटाको हिसाबकिताब गरेर यसलाई विवादित पार्ने र फुटाउने प्रयास कसैबाट हुनुहुँदैन । त्यसकारण गल्ती सच्याउँदै हामी एक हुनुको विकल्प छैन । जोजो बाहिरिनु भएको छ, उहाँहरुलाई पनि सल्लाह छ फेरि एउटै डुङ्गामा बसेर पर्यटन क्षेत्रको विकासका लागि सहयात्रामा लागौँ ।
भूकम्पपछिको पर्यटन विकास र प्रवद्र्धनमा तपाइहरुको भूमिका कस्तो रहन्छ ?
भूकम्पपछि सबैभन्दा चपेटामा परेको कुनै व्यवसाय छ भने त्यो पर्यटन नै हो । हाम्रा अधिकांश सम्पदाहरु सग्लै रहे पनि अन्तर्राष्ट्रिय स्तरमा भएका अनावश्यक प्रचारले अझै पनि सोचेअनुसारको पर्यटन आगमन हुनसकेको छैन । त्यसकारण हामीले तत्काल प्रचार प्रसारका कार्यलाई तीव्र बनाउँदै हाम्रा सम्पदा पुनर्निर्माणमा पनि लाग्नुपर्छ ।
जसका लागि हामी छलफलमा छौँ । केही समय भित्रै पर्यटन मन्त्रालय र बोर्डसँगको सहकार्यमा अगाडि बढ्छौँ । त्यसकारण म पुनः दोहोर्याउँछु भूकम्पपछि पर्यटन क्षेत्रलाई विगतै अवस्थामा फर्काउन पनि हामीले विशेष पहल चाल्नु आवश्यक छ, त्यसकारण जेटीसीसी पुनः जाग्नुपर्ने बेला आएको छ ।
तपाईंको बिचार