पार्टीको बैधानिक संगठन युटीनमात्र हो, मञ्च त एनजिओ हो : कमल सापकोटा
प्रकाशित मिति: 2015/09/01
राम सापकोटा ‘कमल’, अध्यक्ष, एकीकृत पर्यटन व्यवसायी संगठन (युटीन)
राम सापकोटा ‘कमल’ एकिकृत नेकपा माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन (युटीन) का अध्यक्ष हुनुहुन्छ । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध रहिआउनु भएका सापकोटा पर्यटन व्यवसायसँगै विभिन्न सामाजिक कार्यहरुमा पनि उक्तिकै सक्रिय हुनुहुन्छ । उहाँ माउन्टेन डिलाईट्स ट्रेक्स एण्ड एक्स्पीडिसनका सञ्चालकसमेत हुनुहुन्छ । नेपाल पर्यटन व्यवसायी मञ्चले आफुसँग ९० प्रतिशत व्यवसायी रहेको दावी गरिरहँदा त्यसको ठिक विपरितका अभिव्यक्ति दिँदै मञ्च एउटा एनजिओमात्र भएको र आफूमात्र पार्टीको बैधानिक संगठन गरेका जिकिर गर्ने सापकोटासँग गन्तव्य नेपाल न्यूज डटकमका लागि सुवास भट्टले गरेको अन्तरंग संवाद :
एमाओवादीसम्बद्ध दुईवटा पर्यटकीय संस्थाहरु छन्, एउटामा तपाइँको नेतृत्व छ अर्कोमा गणेश शिंखडाको, दुई वटा संस्थाको आवश्यकता किन परेको हो ?
एमाओवादी निकट संस्था अहिले एउटामात्र हो, दुई वटा छैन् । गणेशजीहरुले चलाउनुभएको एनजिओ हो । उहाँहरुले १७ जनाको नाममा एउटा एनजिओ दर्ता गराउनु भएको छ, जुन एनजिओकै रुपमा चलिरहेको छ । पार्टीको निर्देशन यो एनजिओलाई पुनर्गठन गरेर चलाउनुस् भन्ने छ । हामीले चलाईरहेको एकिकृत पर्यटन व्यवसायी संगठन (युटीन) एनजिओको रुपमा दर्ता गरेका छैनौँ, पार्टीको आदेशअनुसार जनवर्गिय संगठनको रुपमा, पेसागत ढंगले चलाईरहेका छौँ ।
यसकारण संगठन दुईवटा छैन् । यहाँ एमाओवादी निकट धेरैले यस्ता एनजिओहरु चलाएका छन् । म आफैँ पनि एउटा एनजिओ चलाउँछु– यो फरक कुरा रह्यो । युटीनलाई हामीले पार्टीको विधान र पद्धतीमा रहेर पार्टीको निर्देशनमा स्पस्ट रुपमा हामीले चलाएका छौैँ । केही साथीहरु पार्टीमा बस्नुभएको छैन र छुट्टै रुपमा एनजिओ चलाउनु भएको छ । उक्त एनजिओलाई भंग गर्न एक साता अगाडी निर्देशन आईसकेको छ । आवश्यकता छ भने एनजिओको रुपमा चलाउन पाईयो, पार्टीको चैँ युटिन हो, तपाइँहरु सबै युटीमै आउनुस भनेर उहाँहरुलाई पार्टीले भनेको छ ।
तपाइँ आवद्ध रहेको युटीन चैँ बैधानिक हो, भन्ने तपाइँको दावी हो ?
पार्टीको निर्देशनअनुसार हामी चलिरहेका छौँ, तसर्थ हामी बैधानिक हो ।
तर, नेपाल पर्यटन व्यवसायी मञ्चले तपाइँहरुलाई अवैधानिक भन्छ नि !
उहाँहरुले गल्ती बोल्नुभयो । उहाँहरु आफ्नो ढंगले भेला गर्नुहुन्छ । पार्टीले उहाँहरुलाई यस्तो भेला नगर्न निर्देशन दिएको पनि छ । यो विषय केन्द्रमा पनि छलफलको ‘इस्यु’ बनेको छ । पार्टीको निर्देशनअनुसार उहाँहरुको भेलामा कोही आएको छैन, व्यत्तिगत पहुँचका आधारमा आउनुभएको भए फरक कुरा भयो ।
तपाइँहरुको विवादलाई एमाओवादीको केन्द्रिय तहमा देखिएको विभाजनको प्रभावको अर्थमा बुझ्न सकिन्न ?
एक ढंगले तपाइँले भनेको कुरा सही हो । तीन/चार वर्षअघिदेखि नै यहाँ विवाद छ । केही साथीहरु गुट बनाउने, यसमै रमाएर हिँडनेतिर लाग्नु भएको छ । नयाँ शक्ति भन्ने ढंगले केही साथीहरु लाग्नु भएको छ, यसकै उपज हो, गणेशजीहरुले चलाईरहनु भएको एनजिओ । काठमाडौँ जिल्लामा पार्टीको समानान्तर कमिटिहरु बनेका छन्, ती समानान्तर कमिटिमा गणेशजी पनि बस्नु भएको छ । पार्टीको निर्देशन नमान्ने, एउटा गुट बनाएर आफु नेतृत्व लिने हिसावले काठमाडौँ जिल्लाकै निर्देशनमा यो बनेको हुनसक्छ ।
केही समय पहिले दुई वटा संगठन मिल्यो, अव औपचारिक घोषणा हुनमात्र बाँकी छ भनेर दुवैले भन्नुभएको थियो, यो कहाँ पुग्यो ?
हामी छलफलमा छौँ मात्र भनेको हो, मैले । केही साथीहरु बाटो विराएर जानुभएको छ, उहाँहरुलाई पार्टी कमिटी र पद्धतिभित्र ल्याउनुपर्छ भनेर हामीले केही हदसम्म सम्झौता गरेको पनि हो । तर, यसलाई उहाँहरुले उल्लङ्गन गर्नुभयो । छलफलको लागि पार्टीको पर्यटन विभागले हामीलाई केन्द्रिय कार्यालय पेरिसडाँडा बोलायो, हामी विहानैदेखि त्यहाँ गएर बस्यौँ, अबेरसम्म पनि उहाँहरु आउनुभएन, उहाँहरु कांग्रेशसम्बद्ध नीट–नेपालको बैठकमा जानुभएको रहेछ । यसरी पार्टीको निर्देशन उहाँहरु नमान्ने काम उहाँहरुले गर्नुभयो । हामीले केही सम्झौता गरेर उहाँहरुलाई ल्याउने चेष्टा गरेको थियौँ, उहाँहरुले तोडनुभयो ।
दोस्रो पटक पार्टी इन्चार्ज जनार्दन शर्माले बोलाएर केही सम्झौता हामीले गरेका थियौँ, सम्झौताअनुसार उहाँहरुले भेला नगर्ने भन्ने थियो, तर यसविपरित उहाँहरुले दास्रो पटक सम्झौता तोडनुभयो । पार्टी पद्धतीमा नआउने र आफ्नै ढंगले चल्ने खालको प्रवृति उहाँहरुमा देखिन्छ ।
गणेशजीले ९० प्रतिशत र १० प्रतिशतको कुरा गनुृभएको छ । व्यक्तिगत मनमुटावको आधारमा तपाइँहरु छुट्टिएको र चाँडै उतै फर्किने फर्किने भन्नुभएको छ, यसमा के भन्नुहुन्छ ?
उहाँले उल्टो भन्नुभयो । ९० प्रतिशत युटीनको बाँकी १० प्रतिशत नेपाल पर्यटन व्यवसायी मञ्चको भन्न खोज्नु भएको होला । बोल्दा गल्ती भयो कि भनेर उहाँलाई पुनः सोध्नुस् (हाँस्दै) । अर्को कुरा कमिटी हेर्यो भने पनि हाम्रो ५१ जनाको केन्द्रिय कार्यसमिति छ, उहाँहरुको १७ जनाको । उहाँहरुले अव पुनर्गठन गरेर २५ जनाको कार्यसमिति पुर्याउने भन्नुभएको छ । यहि २५ जनामा पनि नसोधिकन नाम राखिएको रहेछ, धेरै साथीहरुले आपक्ति जनाएर राजिनामा दिइसक्नु भएको छ । आफुलाई भेलाको बारेमा थाहा नभएको भनेर आधाआधि साथीहरुले भन्नुभएको छ, बजारमा यो कुरा आईसकेको छ । यसैबाट प्रश्ट हुन्छ कस्को ठूलो भनेर ।
मिल्न सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
उहाँहरु पनि हाम्रै पार्टीनिकट भएकाले गुट बनाएर नहिँडनुस, पार्टीको विधि र पद्धतिमा आउनुस । यसो गर्दा मिल्न सक्ने कुरामा हामी सम्झौता गर्न तयार छौँ, भनेका छौँ । मिल्न सक्ने कुरालाई नकार्न त सकिन्न तर बारम्बार प्रयास गर्दा पनि उहाँहरु आफ्नो ढंगले भेला गरिहिँडने, पार्टीले बोलाउँदा नजाने, गए पनि त्यहाँ मान्ने यता आएपछि पुरानै प्रवृति दाहोर्याउनुले समस्या निम्त्याएको छ । अहिले नै मिल्न सक्ने सम्भावना चाँहि मैले कम देखेको छु । तथापी, त्यातातिर भएका साथीहरुको समूहले हामीले बाटो विरायौँ पार्टी विधि र पद्धति मानेर त्यतै फर्किन्छौँ भनेका छन्, उहाँहरु आउनुहुन्छ । बाँकी कुराहरु त तुरुन्तै होलाजस्तो लाग्दैन् ।
एउटै पार्टीमा दुईवटा संगठन त्यसमा पनि एकार्कामा आरोप–प्रत्यारोप गरेर समानान्तर रुपमा अघि बढदा तपाइँहरुको सामथ्र्य नै घट्छ भन्ने लाग्दैन ?
यसरी विभाजन हुने कुरा राम्रो त होईन । त्यही भएर हामी संस्थापन पक्षले बारम्बार आह्वान गरेर एनजिओलाई पनि एक ढंगले मिलाएर लग्ने प्रयत्न गरेको हो । यसका लागि कहाँ–कहाँ मिलाउन सकिन्छ मिलेर अघि बढौँला भनेको हो । यति भन्दा पनि उहाँहरु गुटमै रमाउनुहुन्छ भने हाम्रोमात्र प्रयासले हुने कुरा भएन् । मिल्दा बलियो हुने कुरामा त विवादै रहेन । तर, उहाँहरु पार्टीतिर भन्दा पनि अर्को कुनै दलको पछि लाग्ने, उसैको निर्देशन मान्ने प्रवृति छ । यसरी हेर्दा भोली उहाँहरु आउनुभयो भने पनि पार्टीलाई के फाईदा हुन्छ भन्ने कुरा रहन्छ ।
टानको भावी नेतृत्वका लागि तपाइँ आफू पनि इच्छुक हुनुहुन्छ, तर अहिलेसम्म निर्वाचनका मिति तोक्ने कामसम्म भएको छैन, यसलाई कसरी हेनुभएको छ ?
निर्वाचन त जसरी पनि समयमै सम्पन्न हुनुपर्छ, यसअघिको अभ्यासअनुसार समयमै निर्वाचन भएको छ । बजारमा केही हल्लाहरु चलेका छन् । अस्ति मजदुरहरुको माग लिएर जाँदा अध्यक्षलगायतका कार्यसमिति साथीहरुले डिसेम्बरमा चुनाव गर्ने खालका कुरा गरेका कुराहरु आएका छन् । तर, व्यवसायीहरुको ठूलो दवावकाविच उहाँहरु विगतकै अभ्यासविपरित निर्वाचनबाट भाग्न सक्नुहुन्न । अव आउँदो साता/१० दिनमा निर्वाचन मिति तोकिएन भने व्यवसायीहरुको दवाव उहाँ थेग्न सक्नुहुन्न । निर्वाचन घोषणा जसरी पनि हुनुपर्छ, भित्री रुपमा नचाहे पनि बाध्यताबस उहाँहरुले मिति घोषणा गर्नुपर्छ ।
टानलाई अव नयाँ ढंगले अगाडी बढाउनुपर्छ भन्ने नयाँ व्यवसायी साथीहरुको गुनासो छ । टानमा राजनीति भयो, अनियमितता भयो भन्ने खालका कुराहरु आएका छन् । तसर्थ टानलाई नयाँ ढंगबाट अगाडी बढाउन नयाँ सोच र दृष्टिकोण आवश्यक छ भन्ने आधारमा यसलाई सोही ढंगबाट अघि बढाउन साथीहरुको आग्रहस्वरुप मैले सोच बनाएको हो । यद्यपी, समय बाँकी छ, अहिल्यै घोषणा गर्नेभन्दा पनि परिस्थिति हेरेर साथीहरुको सल्लाहमा म अगाडी बढछु ।
एक समय जेटीसीसीमार्फत पर्यटन बोर्डको अनियमितताकाविरुद्ध लडनुभयो, अहिले के छ पर्यटन बोर्डको अवस्था ?
पर्यटन बोर्डमा देखिएको अनियमितताकाविरुद्ध हामी एमाओवादीनिकट व्यवसायीहरु वर्षौँदेखि लडिरहेका थियौँ । यो मुद्दा खासमा हाम्रो थियो । जेटीसीसीका मै हुँ भन्ने साथीहरु हामी लडिरहेको अवस्थामा बोर्डसँग साँठगाँठ गनुृहुन्थ्यो । केही भागबण्डामा कुरा नमिलेपछि उहाँहरुले आन्दोलनको उठान गर्नुभयो, हामीले त स्वतः समर्थन गर्ने कुरा भैहाल्यो । सांच्चै इमान्दार भएर भन्दा पनि के–के स्वार्थ नमिलेको कारणले उहाँहरुले आन्दोलन उठान गर्नुभएको हो । जसरी आए पनि समर्थन गरेर हामी आन्दोलनमा लाग्यौँ ।
आन्दोलन सफल भैसकेपछि हेर्दा केही साथीहरु नेता बन्नलाई, पर्यटन बोर्ड वा त्यस्तै कतै जानलाई उहाँहरुले आन्दोलन गर्नुभएको रहेछ भन्ने प्रश्ट भयो । यसपछि जेटीसीसीमा बस्नु आवश्यक छैन भन्ने ठहर गरेर हामी बाहिरियौँ । एक ढंगले जेटीसीसी भंग भईसकेको छ ।
तर, ४० भन्दा बढी संघसंस्था हामीसँग छ भन्ने उहाँहरुको दावी छ नि !
यो उहाँहरुको दावीमात्र हो, आधाभन्दा बढी संघसंस्थाहरु त्यहाँबाट बाहिरिईसकेका छन् । अर्को कुरा जेटीसीसीले केही गरेको छैन् । आन्दोलनको मोर्चामा रहेका साथीहरु त्यहाँ हुनुहुन्न, यसको अव आवश्यकता पनि छैन् र भंग भयो भन्ने हाम्रो बुझाई हो ।
जेटीसीसी नमानेपछि समस्याको समाधानका लागि अर्को कुनै संस्था आवश्यक छ भन्ने तपाइँहरुको बुझाई हो ?
केही मुद्दाहरु सम्बोधन भैसकेकाले आन्दोलन नै गर्नुपर्छ भन्ने मलाई लाग्दैन् । त्यस्तो केही परिस्थिति आयो भने नयाँ ढंगले अघि बढन सकिन्छ ।
तपाईंको बिचार