Sunday, January 17, 2021

डोजरले जथाभावी सडक खने, नियमन गरौं :उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति: 2020/02/09

माघ २६, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जता मन लाग्यो त्यतै बाटो खन्ने डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले वातावरण संरक्षणका लागि डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताएका हुन् । अहिले जलवायु परिवर्तनको चपेटामा मुलुक परेको भन्दै उनले डोजरको बारेमा पनि कार्यक्रममा छलफल आवश्यक रहेको बताए । खासगरी विकसित मुलुकहरुका कारण जलवायु परिवर्तनको समस्या उब्जिएको बताउँदै उनले त्यसबाट सिर्जित समस्या नेपालजस्ता कम विकसित देशहरुले भोग्नु परिरहेको बताए । नेपालमा रहेका गगनचुम्बी हिमालहरुले पृथ्वीलाई चिसो बनाउन मद्दत गरिरहे पनि यो पक्षलाई महत्व नदिएको उनले बताए । 

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जलवायु परिवर्तनका विषयमा खोज अध्ययन गर्न कसरी सहभागी गराउने भन्ने विषयमा बहस चलाउन पनि उनले कार्यक्रम आयोजकलाई सुझाव दिए । आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपाय खोज्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने विश्वास व्यक्त गरे । सगरमाथा संवादमा विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, नीति निर्माता, निजी क्षेत्र तथा अभियन्ताहरु सहभागी हुने उनले जानकारी दिए । सगरमाथा संवाद कार्यक्रम प्रत्येक २,२ वर्षमा आयोजना गरिने उनले बताए ।

तपाईंको बिचार