Sunday, January 24, 2021

प्याजको मुल्य ह्वात्तै घट्यो

प्रकाशित मिति: 2020/02/12

माघ २९, काठमाण्डौ । प्याजको मूल्य घटेर प्रतिकेजी सय रुपैयाँ भन्दा तल झरेको छ । कुनै समय २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य अहिले घटेको हो । उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा गत आइतबारदेखि प्रतिकेजी खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ । त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको कालिमाटी बजारको सूचनामा उल्लेख छ । गत सिजनमा भारतमा प्याजको उत्पादनमा कमी आएपछि प्याजको मूल्य बढेको थियो । त्यसमा पनि विदेश निर्यातमा प्रतिवन्ध लगाएपछि भारतमा निर्भर नेपाली प्याजको बजारमा मूल्य आकासिएको थियो ।

त्यतिबेला चिनियाँ प्याजको केही मात्रामा आयात भएपनि मूल्य भने घटेको थिएन । नेपालमा उपभोग गरिने ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आउने गरेको बताइन्छ । प्याजको सिजन सुरु भएसँगै मूल्य पनि घटेको हो । फेब्रुअरीदेखि बजारमा नयाँ प्याज आउँछ । यो वर्ष उत्पादन बढेकाले पनि मूल्यमा सुधार देखिएको छ । तर भारतले नेपालमा प्याजको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छैन । कालिमाटी तरकारी तथा फलफूल बजारका उपनिर्देशक विनय श्रेष्ठले अहिले भारतीय प्याजनै विक्री भइरहेको बताए ।

 

तपाईंको बिचार