Monday, January 18, 2021

नुवाकोट ढाँडाखर्कको खानेपानी योजना डा. महतद्धारा उद्घाटन सम्पन्न

प्रकाशित मिति: 2020/02/16

फागुन ४, काठमाण्डौ । नुवाकोटको तारकेश्वर गाँउपालिकामा निर्मित ढाँडाखर्क खानेपानी आयोजना उद्घाटसँगै स्थानियको घरघरमा खानेपानीको बितरण सुरु भएको छ । स्वच्छ प्रशोधित खानेपानीको उपभोग गर्न थालेसँगै स्थानियहरु हर्सित भएका छन ।

शनिबार नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एक समारोह बिच खानेपानीको उद्घाटन गरेका हुन । । उक्त खानेपानी आयोजनाको उद्घाटन गर्दै डा. महतले प्रत्येक घरपरिवारलाई शुद्ध पिउने पानी पाउनुपर्ने नागरिकको अधिकार भएको बताउँदै बिगतमा कांग्रेस सरकारमा भएकै बखत प्रत्येक गाँउमा खानेपानी, स्वास्थ्य सेवाको लागि प्रत्येक गाँउमा स्वास्थ्य चौकी र पूर्वाधार निर्माणको लागि सडक पूर्याउन सरकारले प्राथमिकताका साथ काम गरेको बताए । उनले महत्वकांक्षी योजनाका बहश गर्नुभन्दा निर्माण भएका कच्ची सडकहरुको स्तरोन्नती सरकारको प्राथमिकता हुनुपर्ने समेत बताए । 
कार्यक्रममा सांसद बहादुर सिंह लामाले सरकार निर्माणको काममा भन्दा भ्रष्ट्राचारमा लिप्त भएको बताउँदै हिजो बजेट राखी निर्माण सुरु गरिएको आयोजनाहरु आज बजेट बिहिन भएर योजनाहरु अलपत्र भएको बताए । 
कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले स्थानिय स्तरमा स्वस्थ जीबनको लागि खानेपानी आयोजनाको निर्माण महत्वपूर्ण भएको भन्दै अब टाढाटाढा गएर खानेपानीको व्यावस्थापन गर्ने दिन सकिएको बताए ।
बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्सालले आफ्नो समाजसेवाको यात्रा जारी रहेको बताउँदै छोटो समयमै खानेपानी आयोजना सम्पन्न गरेर स्थानियलाई हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।
स्थानिय समाजसेवी तथा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अबिरलले तारकेश्वरको बिकास निर्माण र महिला सशक्तिकरणको अभियानमा आफू सशक्त रुपमा अघि बढेको बताउँदै राजनीतिक रंग नदिनको लागि आग्रह गरे । अधिकारीले राजनीतिक तिकडमले समृद्ध तारकेश्वर बन्न नसक्ने भन्दै सबै तह र तप्काबाट जनस्तरको भावना अनुरुप काम गर्दै जानुपर्ने बताए ।
बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्साल र स्वीस नागरिक बर्नहार्ट बूलरको नेतृत्व र स्थानिय समाजसेवी तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अबिरलको प्रयासमा स्वीस नागरिक बूलर लगायतको टिमको ४५ लाखको सहयोगमा निर्माण सम्पन्न भएको हो । खानेपानी तारकेश्वर ढाँडाखर्क आसपासका ४९ घरधु्रीमा बितरण गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नुवाकोट जिल्ला प्रवक्ता तथा युवा नेता राजु थापा, गीरीजाप्रसाद कोईराल फाउण्डेशन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठक, नेपाली कांग्रेसका नेता चोकराज शाक्य, राजकुमार भट्टराई, हरी श्रेष्ठ, तारकेश्वर गाँउपालिका वडा नं १ का अध्यक्ष दयानिधी अधिकारी लगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।    कार्यक्रम सिताराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईंको बिचार