Sunday, January 17, 2021

राप्रपा तेस्रो शक्ति बन्ने पक्का, केपी पछि प्रचण्डको सरकारमा जानु महाभूल भयो : कमल थापा

प्रकाशित मिति: 2020/02/18

६ फागुन, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई दुःख दिन दरबार वरिपरिका मान्छे लागेको बताएका छन् । तर पनि राजा र राजसंस्थासँग राप्रपाको दुरी नघट्ने उनले बताए ।

रुपन्देहीको बुटवलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले भने, ‘राप्रपालाई कमजोर बनाउन र दुःख दिन दरबार वरिपरिका मान्छेहरु लागेका छन् । उनीहरुले नकारात्मक सोंच राख्दैमा राजा र राजसंस्थासँग हाम्रो पार्टीको दूरी घट्दैन ।’
राजा कुनै व्यक्ति र दलको मात्रै नहुने भन्दै उनले राजा सबैको साझा हुने बताए । राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अझै पनि जनताको आस्था र विश्वास रहेको दाबी गर्दै थापाले आउँदो चुनावबाट राप्रपा तेस्रो शक्तिको रुपमा उदाउने उदघोष गरे ।
जनताले कम्युनिष्ट र कांग्रेसको विकल्पमा बलियो र भरपर्दो लोकतान्त्रिक शक्ति खोजेको थापाको भनाइ छ । उनले भने, ‘देशले इतिहास, परम्परा, धर्म, संस्कृति संरक्षण, राष्ट्रियता बलियो बनाउने राष्ट्रवादी र लोकतान्त्रिक शक्ति खोजेको छ,’ थापाले भने, ‘कांग्रेसदेखि विप्लव माओवादीसम्म सबै सेन्टर लेफ्ट विचारधारा बोकेका दल भए । अब हामी सेन्टर राइट पार्टी बन्छौं, यो सम्भव छ ।’
थापाले आउँदो चुनावलाई लक्षित गरी राप्रपाले महाधिवेशनको मिति सकिनु ९ महिना अगावै महाधिवेशन गर्न थालेको बताए । आउँदो चुनावसम्म देशभर तीन लाख सक्रिय कार्यकर्ता बनाउने लक्ष्यसहित सातै प्रदेशमा संगठन विस्तार अभियान चलाइएको थापाले बताए । उनले पशुपति शमसेर राणा नेतृत्वको राप्रपा संयुक्तसँग पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको पनि उनले बताए । तर यसबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जानकारी गराउनुपर्ने थापाको भनाइ छ । केपी ओली नेतृत्वको सरकारपछि प्रचण्ड नेतृत्वको सरकारमा जानु राप्रपाको सबैभन्दा ठूलो राजनीतिक भूल भएको थापाले दोर्होयाए ।

तपाईंको बिचार