Saturday, January 23, 2021

सडकपेटीको व्यवस्थापन अब महानगरपालिकामार्फत

प्रकाशित मिति: 2020/02/18

६ फागुन, काठमाडौं । काठमाडौंका सडकपेटी अहिले दूरावस्थामा छन् । टायल टाँसिएका पेटी (फुटपाथ) पनि पैदलमैत्री छैनन् । धेरैजसो क्षेत्रका टायल उप्किसकेका छन, कति ठाउँमा त पेटीका टायल उप्किएर खाल्डो परेको छ । यो समस्या समाधानका लागि काठमाडौं महानगरभित्रको फुटपाथ व्यवस्थापनको काम मुख्य रुपमा अब काठमाडौं महानगरपालिकाले नै गर्ने भएको छ । शहरभित्र रहेका ८ मिटरभन्दा चौंडा सडकको फूटपाथ व्यवस्थापन अहिले पनि सडक विभागको दायित्वमा छ । साना सडकमा खासै फूटपाथ छैनन् ।तर, अब महानगरपालिकाले पनि समन्वय गरेर फूटपाथ व्यवस्थापन गर्ने योजना बनाएको हो । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले सडक विभाग अन्तरगतका सडकका फूटपाथ पनि निर्माण, व्यवस्थापन र मर्मतसम्भार गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाको निर्णयलाई प्रधानमन्त्री कार्यालयले बनाएको शहरी व्यवस्थापनको कार्ययोजनाभित्र समेटिएको छ । महानगरपालिकाका भौतिक विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले सडकको रेलिङ र फूटपाथको काम क्रमैसँग महानगरपालिकाले नै गर्दै जाने बताए ।

शहरभित्रका सर्वसभारण हिँड्ने फूटपाथको व्यवस्थापनको मूल दायित्व महानगरको हुने भएकाले कार्यपालिका बैठकको निर्णयअनुसार नै फूटपाथहरुको व्यवस्थापनको लागि काम सुरु गरिएको उनले बताए ।

महानगरपालिकाले हालै पुतलीसडकबाट अनामनगरसम्मको करिब डेढ किलोमिटर फूटपाथ क्षेत्र व्यवस्थापनको लागि ठेक्का निकालेको छ । जसमा ३ करोडभन्दा बढी खर्च हुने अनुमान छ । पेटी बनाउनुअघि सो फूटपाथमा दोहोरो योजना नपरोस् भनेर सडक विभागमा पनि सोधिने महानगरपालिकाले जनाएको छ । अहिले केही सडकपेटीमा सडक विभाग र महानगरपालिकाको दोहोरो ठेक्का पनि लागेका छन् । शहरका लाइफलाइनका रुपमा रहेको पेटीलाई यत्तिकै राखेर शहर आधुनिक नबन्ने निश्कर्ष निकालेर नै अघि बढेको महानगरपालिका बताउँछ । अहिले पनि पेटीको अवस्था दयनीय भएको स्वीकार्दै विभागीय प्रमुख रेग्मीले सडकपेटीलाई स्तरीय र पैदलयात्रुमैत्री बनाउन आधुनिक मोडलहरु प्रयोग गरेर काम गरिने बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र नेपाल टेलिकमले पनि धेरै पेटीहरुको टायल उप्काएर पाइप बिछ्यायो । तर, काम सकिएपछि तत्कालै पुनः बिछ्याउन उसले पनि चासो दिएको छैन । बिछ्याएका ठाउँमा पनि टायल उप्किएर यत्रतत्र छरिएका छन् ।

तपाईंको बिचार